२०८३ साउन १२ गते मङ्गलवार | 2026 July 28th Tuesday

मुख्यमन्त्री आचार्यद्धारा विकास योजनाहरू जनताले अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न निर्देशन

दाङ, १२ साउन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजनाहरू जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्ने गरी सञ्चालन गर्न तथा कामको गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिएका छन्।

सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१र०८२ को प्रगति समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावशीलतामा प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले समपूरक, विशेष र सशर्त अनुदानका बजेटहरू समयमै कार्यान्वयन गर्न र ठेक्का प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका छन्। साथै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने र “साल बसाली योजनामा रकमान्तरण नगर्न” पनि उनले स्पष्ट गरेका छन्।

धेरै पहाड भत्काएर होइन, आवश्यकतानुसारको डिजाइन र यथार्थपरक स्टिमेट तयार गरिनुपर्छ,” मुख्यमन्त्री आचार्यले भने। उनले कालोपत्रे सडकको सट्टा प्राविधिक दृष्टिले बलियो देखिएको ढलान सडकलाई प्राथमिकता दिनुपर्ने धारणा पनि राखे।

मुख्यमन्त्री आचार्यले जनघनत्वको आधारमा योजना छनोट गर्नुपर्ने र योजनामा देखावटी खर्चभन्दा दीर्घकालीन उपयोगिता तथा जनसरोकारको महत्व बढाउनुपर्ने बताएका छन्।

कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखा प्रमुख, आयोजना निर्देशक र प्राविधिक अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस