२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले राजनीतिक दल खोल्ने

काठमाडौं, ३१ असोज । जेनजी आन्दोलनका युवा नेता मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्न लागेको घोषणा गरेका छन्।

उनले भोलि ९शनिबार ( दिउँसो ) बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत दलको औपचारिक घोषणा गर्ने जानकारी दिएका छन् ।

ढुंगानाले नयाँ दलले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता एजेन्डालाई प्राथमिकतामा राख्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले भनेका छन्, “राजनीतिक दल खोल्नुको अर्थ अहिलेको अवस्थामै निर्वाचनमा जानु होइन।

जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट दिने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ।” उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तनको सुरुवात भन्दै अझै शान्तिपूर्ण रूपमा लडिरहने प्रतिबद्धता जनाएका छन्। “यो आन्दोलन देशको मुहार फेर्ने अभियान हो। यो पटक हामी फर्किएर धेरै समयसम्म नआउनेछौँ।

देशको विकास चाहनेहरूलाई हाम्रो साथमा आउन आग्रह गर्दछु,” ढुंगानाले भनेका छन्। उनका अनुसार, देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ। “७८ जना नेपालीले ज्यान गुमाएका छन्। देशले निकास खोजिरहेको छ र त्यस निकास दिन हामी आफूलाई जिम्मेवार ठान्छौँ। निकास दिलाएरै छोड्नेछौँ,” उनले भनेका छन्।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस