२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन मानव अधिकार आयोगको आग्रह

काठमाडौ, ९ कार्तिक ।

राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधनको मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले उठाएका मागहरूलाई समयमा र उचित ढंगले सम्बोधन गर्न सरकारसँग आह्वान गरिएको छ।

साथै समस्याको समाधान वार्ता र संवादमार्फत खोजिनुपर्नेमा आयोगले जोड दिएको छ। “समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारका मूल्य–मान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।

आयोगले विगतका केही घटनामा शान्तिपूर्ण भनिएका प्रदर्शनहरू हिंसात्मक र ध्वंसात्मक रूप लिएको स्मरण गराउँदै आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिन प्रदर्शनरत पक्ष सचेत रहनुपर्नेमा जोड दिएको छ।

“प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ। आगामी प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हो,” आयोगले भनेको छ।

त्यसैगरी, आयोगले सुरक्षा निकायलाई संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ। प्रदर्शनरत पक्षले पनि आफ्ना गतिविधि शान्तिपूर्ण राख्ने, घृणायुक्त अभिव्यक्ति नदिने र उत्तेजनापूर्ण व्यवहारबाट टाढा रहनुपर्ने आयोगले स्मरण गराएको छ।

आयोगका अनुसार नागरिकका अधिकारहरूको सम्मान गर्नु र सो अधिकार उपभोगको सहज वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो। त्यसैले गत भदौ २३ र २४ गतेको प्रदर्शनपश्चात् जेनजी पुस्ताले उठाएका जायज मागहरू समयमा सम्बोधन हुनुपर्नेमा आयोगले जोड दिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १० गते सोमवार
प्रतिक्रिया दिनुहोस