ठेकेदारको हातमा मेला महोत्सव, निरीह बन्दै मूल समिति, बढ्दै छ छाडापन र सांस्कृतिक विकृति
दाङ । देशभर आजकाल सांस्कृतिक, व्यापारिक तथा प्रविधि, कृषि महोत्सव र रमाइलो मेला को संख्या उल्लेख्य रूपमा बढेको छ।
उद्देश्यका रूपमा संस्कृति संरक्षण, कृषि प्रवर्द्धन, प्रविधि हस्तान्तरण र मनोरञ्जनको नाम लिइन्छ।
तर यथार्थमा यी महोत्सवहरू क्रमशः ठेकेदार–केन्द्रित, नाफामुखी र उद्देश्यविहीन बन्दै गएका छन्।
कागजमा मूल आयोजक समिति देखिन्छ, तर व्यवहारमा मेला लगाउनेदेखि स्टल बिक्री, टिकट उठाउने, कलाकार छान्ने र कार्यक्रम निर्धारण गर्ने अधिकार ठेकेदारको हातमा पुगेको छ।
मूल समिति उद्घाटन–समापनमा सीमित हुँदा, लाखौँ–करोडौँको कारोबार हुने महोत्सवको हिसाब–किताब आफैं गर्न नसक्ने अवस्था गम्भीर प्रश्न बनेको छ।
आम्दानी कति भयो, कहाँ खर्च भयो भन्ने कुरा अस्पष्ट रहँदा उत्तरदायित्व कसले लिने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।
यस्तै, उद्देश्यभन्दा आम्दानी हाबी हुँदा महोत्सवको स्वरूप पनि विकृत बन्दै गएको छ। कृषि महोत्सवमा किसानभन्दा व्यापारी हाबी, विज्ञान तथा प्रविधि महोत्सवमा प्रयोगात्मक ज्ञानभन्दा ब्रान्ड प्रचार प्रमुख, र सांस्कृतिक महोत्सवमा मौलिक लोककला भन्दा स्टेज शो र सेलिब्रिटी प्रदर्शन केन्द्रमा पुगेको देखिन्छ।
रमाइलो मेला त झनै शुद्ध मनोरञ्जन र नाफाको थलोमा सीमित हुँदै गएको छ। यसै क्रममा सबैभन्दा चिन्ताजनक पक्ष भनेको मनोरञ्जनको नाममा बढ्दो छाडापन हो।
जलपरी, माछा–माछाको भड्किलो पहिरनमा महिलालाई एक्वेरियमजस्तो संरचनाभित्र राखेर नचाइने, उत्ताउला हाउभाउ र उच्छृङ्खल प्रस्तुति दिने कलाकारलाई मुख्य स्टेजमा उतारिने क्रम सामान्य जस्तै बन्न थालेको छ।
यसलाई आधुनिकता र कला भनेर ढाकछोप गरिए पनि यो हाम्रो लोकसंस्कृति र सामाजिक मर्यादामाथिको गम्भीर आघात हो। लोकगीत, लोकनृत्य र परम्परागत पहिचान बोकेका कार्यक्रम हुनुपर्ने महोत्सवहरूमा आज अर्धनग्नता, उत्तेजक नृत्य र भड्किलो प्रदर्शन नै आकर्षणको केन्द्र बन्न थालेको छ।
संस्कृति संरक्षणका नाममा आयोजना गरिने महोत्सवमै संस्कृति विकृत रूपमा प्रस्तुत हुनु विडम्बना मात्र होइन, चिन्ताको विषय पनि हो।
सार्वजनिक स्थानमा आयोजना हुने यस्ता कार्यक्रम परिवार, बालबालिका र विद्यार्थीका लागि हेर्न नमिल्ने अवस्थामा पुग्नु सामाजिक रूपमा खतरनाक संकेत हो। यसले केवल सांस्कृतिक मूल्यलाई कमजोर बनाएको छैन, मानव शरीरलाई वस्तुकरण गर्ने प्रवृत्तिलाई पनि प्रोत्साहन गरिरहेको छ।
भीड तान्ने नाममा छाडापन बेच्ने सोचले समाजमा गलत सन्देश फैलाउँदैछ। अब प्रश्न उठ्नैपर्ने समय आइसकेको छ के यही हो हाम्रो संस्कृति के यही हो कृषि, व्यापारिक ज्ञान विज्ञा विज्ञान र सांस्कृतिक महोत्सवको उद्देश्य महोत्सव आफैंमा गलत होइनन्।
मनोरञ्जन आवश्यक छ, आधुनिकता पनि आवश्यक छ। तर त्यो मर्यादा, पहिचान र सामाजिक उत्तरदायित्वभित्र हुनुपर्छ। ठेकेदारको नाफा र भीडको लोभमा यदि मूल उद्देश्य नै बिर्सिइयो भने, महोत्सव विकास र चेतनाको माध्यम होइन, विकृतिको प्रदर्शनस्थल बन्नेछ।
अब मूल आयोजक समिति, स्थानीय सरकार र समाज सबैले यसको जिम्मेवारी लिनैपर्छ। हिसाब–किताब सार्वजनिक हुनुपर्छ। स्थानीय कलाकार, किसान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा संस्कृति जोगाउने नाममा संस्कृति नबेचियोस्। महोत्सव विकासको साधन हुनुपर्छ, छाडापन र ठेक्काको व्यापार होइन।