२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

आज सोनाम ल्होसार: हर्षोल्लासका साथ मनाइँदै

दाङ, ५ माघ।

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउँदै आएको सोनाम ल्होसार आज विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइँदै छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६२ औँ सोनाम ल्होसार वर्ष सुरु भएको छ । यस वर्ष सर्प वर्ष पूरा भई घोडा वर्ष प्रवेश गरेको हो ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका पशुपन्छीका आधारमा विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिने भएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो परम्परा मानिने सोनाम ल्होसार नेपालसँगै चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया र सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले पनि सोनाम ल्होसार मनाउने परम्परा रहेको छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस