राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु
दाङ, ११ माघ ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।
प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरका अनुसार निर्वाचनका लागि दुईवटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था गरिएको छ भने मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।
उनका अनुसार लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र २०९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २९९ जना मतदाता रहेका छन्। मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार