२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

नेकपा नै विप्लव समूहको वास्तविक घर होः प्रचण्ड

काठमाडौँ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकप) मै फर्किन आग्रह गरेका छन्।

विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरूलाई नेकपामा स्वागत गर्दै दाहालले यस्तो आग्रह गरेका हुन्। उनले जेन-जी आन्दोलनपछि विप्लव राजनीतिक रूपमा ठुलो तुवालोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए।

“हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठुलो महत्त्व पाउँदै हुनुहुन्थ्यो,” दाहालले भने।

समाजवादी मोर्चालाई नै नेकपाका रूपमा अगाडि बढाउन चाहेको आफू र माधवकुमार नेपालले विप्लवलाई निकै ठुलो महत्त्व दिए पनि एकताबाट विप्लव विनाकारण पछाडि हटेको उनको भनाइ थियो।

एकतामा समावेश नभए पनि विप्लवप्रति आफ्नो कुनै घृणा वा आक्रोश नरहेको स्पष्ट पार्दै दाहालले नेकपा नै विप्लव समूहको वास्तविक घर भएको उल्लेख गरे। “यताउता भड्किनुपर्ने कुनै आवश्यकता छैन। आजभोलि यताउता भड्किँदा केही हुनेवाला छैन,” उनको भनाइ थियो।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस