२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

सूर्य चिह्न अंकित झण्डा जलाउँदै गरिएको नाराबाजीप्रति एमाले दाङको गम्भीर ध्यानाकर्षण

दाङ, ८ फागुन।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी दाङले तुलसीपुर बजार क्षेत्रमा बिहीबार सूर्य चिह्न अंकित झण्डा जलाउँदै गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला अध्यक्ष शिवकुमार आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बद्ध व्यक्तिहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अशोभनीय नारा लगाउँदै पार्टीको झण्डा जलाएका हुन्।

एमालेले उक्त गतिविधिलाई लोकतान्त्रिक संस्कार, राजनीतिक शिष्टाचार र विधिको शासनमाथिको प्रहारका रूपमा टिप्पणी गरेको छ। अध्यक्ष आचार्यले अभिव्यक्ति स्वतन्त्रताको अधिकार अराजकता र विद्वेषपूर्ण आचरणका लागि प्रयोग गर्न नमिल्ने स्पष्ट पारेका छन्।

राजनीतिक असहमति विचार, बहस र जनमतमार्फत व्यक्त गर्नुपर्नेमा जोड दिँदै झण्डा जलाउने कार्यले असहिष्णुता र लोकतान्त्रिक मूल्यप्रतिको अनादर झल्काउने दाबी गरिएको छ। एमालेले आफू राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको जनआधारित पार्टी भएको उल्लेख गरेको छ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत हुन आग्रह गर्दै उग्र तथा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन चेतावनी दिएको छ। पार्टीले राष्ट्रिय अखण्डता, सार्वभौमिकता, शान्ति–सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिमाथि निगरानी बढाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस