उद्यम र व्यवसायसँगै नेतृत्वमा पनि ‘युवा’ सोंच हुनुपर्छः विनिल के.सी.
युवा व्यवसायी विनिल केसी जो काठमाण्डौं पुगेर पनि उच्च शिक्षापछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्दै स्व.बुबा विष्णु प्रसाद केसीको प्रेरणाले तुलसीपुरमै फर्किए ।
अनि दाङमा उद्योगको सम्भावना छैन भन्नेहरूलाई चुनौती दिदै २०६० सालदेखि उद्योग सञ्चालन गरेर देखाए । अहिले उनले एक सय बढीलाई रोजगारी दिन सफल भएका छन् । अहिले पछिल्लो समय उनकै प्रेरणाले गर्दा जिल्लामा एउटै प्रविधिको उद्योग अरूले पनि सञ्चालन गरिरहेका छन् ।
उनले परिवारकै सदस्यहरूको सहयोगमा मैदा मिल सञ्चालन गरिरहेका छन् भने आफ्नै उत्पादनमा रहेको गणेश पाउरोटी उद्योगसमेत राम्रो व्यवस्थापनका साथ सञ्चालन गरिरहेका छन् । त्यहाँ ५० जनाले रोजगारी पाएका छन् ।
हुनत सुरूमा उनका पिता स्वर्गीय विष्णु प्रसाद के.सी.ले सुरू गरेको बिष्णु ईम्पेक्स (कपडा पसल) पछि २०७१ सालमा उनको स्वर्गारोहण पछि बन्द गरियो र पाउरोटीको व्यवसायलाई अघि बढाउने पारिवारिक निर्णयले अहिले सार्थकता प्राप्त गरिरहेको छ ।
दाङमा सफल युवा व्यवसायीको पहिचान बनाउन सफल युवा नेता बिनिल के.सी. जोसुकै सँग पनि सजिलै घुलमिल हुन सक्ने सरल स्वभावका व्यक्ति हुन् ।
युवाहरूमाझ निकै लोकप्रियता कमाउन सफल केसी आर्थिक रूपमा जर्जर बनेको राप्ती बबई क्याम्पसको कोषाध्यक्ष भैसकेपछि तत्कालिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय सरकार र स्थानीय संघसंस्थाको समन्वयमा धेरै सुधारका कामहरू गर्न सफल भएको भन्दै पुनः एक कार्यकाल कोषाध्यक्षमै बस्ने प्रस्ताव आएपछि अहिले फेरि कोषाध्यक्षको भूमिकामा रहेका छन् ।
केसी त्यति मात्र हैन तुलसीपुरको होटल वेष्टर्न पार्टी प्यालेस र तुलसीपुर सिटी हस्पिटलको समेत सञ्चालकको भूमिकामा रहेर आफ्नै ठाउँमा केही गर्नुपर्छ र शिक्षा स्वास्थ्यका माध्यमबाट नागरिकलाई सेवा प्रदान गर्नुपर्छ भन्ने स्वर्गीय बुबा विष्णु प्रसाद केसीको प्रेरणाबाट ओतप्रोत भएका विनिल केसी त्यही कारण सफल युवा व्यवसायीको रूपमा छवि कायम गर्न सफल भएका छन् । चाहे राजनीतिमा होस्, वा समाज सेवामा होस् केसीको भूमिका सधै अग्रपंक्तिमा आउँछ ।
आज उनै सफल व्यवसायी तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीसँग व्यवसायिक सफलताका कथा, व्यवसाय प्रवद्र्धन, उद्यमशीलता र व्यवसायको स्वरूप कसरी परिवर्तन गर्दै अघि बढ्ने भन्ने बारेमा अन्तरसंवादको सम्पादित अंश… ।
१. युवाहरूलाई व्यापार, व्यवसाय प्रवद्र्धन गर्न कसरी प्रेरित गर्नुहुन्छ ?
विशेषगरी अहिले युवा पुस्तामा विदेश पलायन हुने मोह बढेको छ । हाम्रो देशको आर्थिक अवस्थाले पनि होला र एउटा चाहि विदेशमा राम्रो पढाइ हुन्छ भन्ने एउटा मानसिकता जुन छ त्यसले पनि युवापुस्ता चाहि विदेशिने क्रम बढेको छ ।
यसलाई हामीजस्ता युवा व्यवसायीहरूले अब हामी उद्यमसँग जोडिन्छौ र व्यवसायसँग जोडिन्छौं, त्यो उद्यम र व्यवसायसँग जोडिएपछि हाम्रा सफलताका कथाहरू बाहिर आएपछि त्यसले प्रेरित गर्न मद्दत गर्दछ । त्यस्ता प्रेरणाले पनि हामी युवापुस्तालाई नेपालमा पनि उद्यमशीलता र व्यापार व्यवसायमा अवसरका साथसाथै चुनौती पनि छ भन्ने सन्देश दिएर अब हाम्रा युवाहरूलाई देशमै रोक्ने प्रयास गर्नुपर्छ ।
एउटा व्यापार र उद्योगको सेक्टर हुन्छ । हामी विशेषगरी अहिलेको अवस्थामा अर्थतन्त्र नै आयातमुखी भएको अवस्था छ ।
२. युवाहरूलाई उद्यमशीलतासँग जोड्न के गर्नुपर्ला ?
हामीले पहिला पनि भन्ने गरेका छौं । एउटा व्यापार र उद्योगको सेक्टर हुन्छ ।
हामी विशेषगरी अहिलेको अवस्थामा अर्थतन्त्र नै आयातमुखी भएको अवस्था छ । हाम्रा कृषिका कुरा, उद्योगका कुराहरू त्यसलाई विशेषगरी सरकारी नीति फितलो भएकाले त्यसलाई ठ्याक्कै सय प्रतिशत रिजल्ट पाउन नसकेको अवस्था हो ।
अब यसलाई हामीले एउटा स्थानीयस्तरको नगर उद्योग वाणिज्य संघ भएकाले हामीले हाम्रो अभिभावक संस्था छ त्यहाँ हामीले एक किसिमको लविङ गर्ने र सरकारका नीति परिवर्तन गरेर उद्यमशीलतालाई बढावा दिने त्यो अनुरूप काम गरिरहेका छौ । स्वदेशी उत्पादनलाई माया गर्ने, आफ्नै देशमा भएको उत्पादन नै प्रयोग गरेमा उद्यमीहरूलाई प्रोत्साहन गर्न मद्दत पुग्छ ।
३. युवामैत्री व्यवसायिक वातावरण सिर्जना गर्न के गर्नुपर्छ ?
युवामैत्री व्यवसाय सञ्चालन गर्दा पहिलो कुरा मेन्टरसीप नै हो । जति पनि युवा साथीहरू व्यवसायमा आउनुहुन्छ, एउटा ईच्छा गर्दैमा व्यवसाय सफल हुँदैन, त्यसका लागि एउटा मेन्टरसीप र गाईडेन्टको आवश्यकता पनि पर्छ । त्यो सरकारले र नेपाल उद्योग वाणिज्य महासंघ लगायतका छाता संगठनहरूले मेन्टरसीप प्रदान गर्नुपर्छ ।
किनकी युवा अवस्थामा व्यवसायमा आईरहदा कहिलेकाहिँ अनुभवको कमीले पनि व्यवसाय धरापमा पर्ने, व्यवसायहरू विस्तार हुन नसक्ने, व्यवसाय बन्द हुने अवस्था पनि भएका छन्, यसलाई न्यूनीकरण गर्नको लागि विशेषगरी सरकारी नीति युवामैत्री, उद्यमशीलता र व्यवसायमा लगानी गर्ने वातावरण बनाई दिनुपर्छ ।
यसमा सहुलियतका कुरा, प्रवर्धन, जस्ता चीजलाई प्रमोट गर्नसकेमा अवश्य पनि युवामैत्री व्यवसाय, उद्योग, कलकारखानाहरू अगाडि बढ्न सक्छन् ।
४. हामी लगानी सम्मेलनको पूर्वसन्ध्यामा छौँ । कतारका राजाको नेपाल भ्रमण सकिएको छ, यसबाट नेपालको अर्थतन्त्र सुधार हुने सम्भावना कस्तो रहेको छ ?
अवश्य पनि लगानी सम्मेलनको संघारमा कतारको राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्नु नेपालको आर्थिक विकासमा कोसेढुङ्गा पनि सावित हुनसक्छ ।
सरकारले धेरै योजनाहरूमा नेपाल र कतारबीच विभिन्न विषयमहरूमा सम्झौता पनि भएको छ । यसले सकारात्मक कुरा ल्याउँछ तर त्यसलाई हामीले कति छिटो कुटनीतिक पहल गर्न सक्छौँ र सरकारले त्यसलाई कसरी अगाडि बढाउन सक्छ त्यो हेर्न बाँकी नै छ ?
त्यो सुखद होस् भन्ने आम व्यवसायीहरूको चाहना रहेको छ । त्यसैगरी जुन लगानी सम्मेलनको कुरा छ, वास्तवमा नेपालको लागि अहिलेको अवस्थामा लगानी सम्मेलन गर्नु भनेको एउटा अवसर पनि हो र चुनौती पनि ।
किनकी नेपालमा अहिले निजी क्षेत्र सशंकित भएको अवस्था छ । बैंक ब्याजदर केही घटेपनि व्यापार, व्यवसायहरू सुस्त रहेको छ । आर्थिक बृद्धिदर जुन हिसाबले बढ्नुपर्ने हो त्यो अनुसार प्राप्त गर्न सकेका छैनौ ।
यस्तो अवस्थामा एउटा वातावरण बनाउनको लागि पनि हाम्रो देशभित्र विदेशी लगानी भित्र्याउने हिसावले हामीले हाईड्रोपावर, टुरिजमलगायतका प्रोजेक्टमा लगानी गर्ने र विदेशी कम्पनीहरूलाई साझेदारका रूपमा भित्र्याउने राम्रो रणनीति हुनसक्छ । यसले नेपालको अर्थतन्त्रमा कायापलट पनि गर्नसक्छ ।
५. कृषि उत्पादनमा प्रोत्साहन गर्न राज्यले के कस्ता कार्यक्रम ल्याउनु पर्छ ?
विशेषगरी कृषि उद्यमलाई सकारात्मक सोंचका साथ अगाडि बढाउनका लागि अहिले एकदमै ठूलो समस्या भनेको मूल्य शृङ्खला र बजारीकरणको हो ।
सरकारले मूल्य शृङ्खलाको अभिवृद्धि गर्ने र बजारीकरणमा राम्रो रोल खेल्न सक्यो भने चाहे त्यो स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकार होस्, त्यस्ता नीति ल्याएर मूल्य शृङ्खला अभिवृद्धि गर्ने र बजारीकरणलाई प्रभावकारी रूपले सहयोग गरिदियो भने जति पनि कृषि र उद्यमसँग जोडिएका व्यवसायीहरूको उत्पादनहरूले ठाउँ पाउने, बिक्री वितरण हुने र उद्योग, व्यवसाय कृषिको पनि प्रवर्धन हुनेछ ।
धन्यवाद !