२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

अस्टीम्की (कृष्ण जन्माअष्टमी) र यसको महत्व

परिचयः–
कृष्ण जन्माअष्टमी भगवान श्री कृष्णको जन्म दिन हो । यो दिनलाई सम्पूर्ण नेपालीहरुले राष्ट्रिय पर्वको रुपमा मनाउने गर्दछन् । थारु आदीवासीहरुले कृष्ण जन्म अष्टमीलाई “अस्टीम्की” को नामले पुकार गर्दछन् । विशेषतः थारु महिलाहरुले ठूलो उत्साह पूर्वक यो चाड पर्व मनाउने गर्दछन् । द्वापर यूगमा भाद्र« महिनाको कृष्णपक्षको अष्टमी तिथिको दिन भगवान विष्णुले श्री कृष्णको रुपमा आठौँ अवतार लिनु भएको थियो । त्यसैले यो दिनलाई उहाँको जन्म दिनको रुपमा मनाइन्छ ।

हरेक चाड पर्वहरुको आ —आफ्नै मौलिकता, विशेषता, धार्मिक, साँस्कृतिक, सामाजीक सम्बन्धका पक्षहरु रहेको पाइन्छ । अष्टीम्कीको पनि आफ्नै मौलिकता, विशेषता र धार्मिक पक्ष रहेको छ । यो पर्वलाई थारु आदीवासी समुदायले आफ्नै मौलिकता, विशेषता र धार्मिक आस्थाको रुपमा मनाउने गर्दछन् ।

अष्टीम्की पर्वलाई थारुहरुले सामुदायिक रुपमा मनाउने गर्दछन् अर्थात अष्टीम्की सामुहिक पर्व हो ।
पश्चिम नेपालका थारुहरुका लागि अस्टीम्की केवल भगवान श्री कृष्ण को जन्म उत्सवको रुपमा मात्र होईन यो जीवन र जगत सँगको आस्था, प्रकृति, सृष्टि, जीवजन्तु, सामाजिक जीवन शैली, कृषि, संस्कृति, गीत र चित्रकला मार्फत पुस्तौंदेखि संरक्षण प्रवद्र्धन, पुस्तान्तरण र हस्तान्तरणको एउटा अदभुत सभ्यता र सम्पदा रहेको पाउन सकिन्छ । विशेषतःस् अस्टीम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोवास गरेका थारु समुदायहरुले भब्य रुपमा मनाउने गर्दछन ।

“अस्टीम्की” नाम कसरी रहन गयो ?
भगवान श्री कृष्णलाई थारु आदीवासीहरुले “कान्हा” पनि भन्छन् । भाद« महिनाको अष्टमी तिथिमा भगवान कृष्ण (कान्हा) जन्मको दिन थारु समुदायले आफ्नो गाउँको मटावा÷वरघर÷भलमन्सा घरको डेही« वा भित्तामा श्री कृष्ण भगवान लगायत विभिन्न देवी देवताहरुको चित्र, जिव जन्तु, चराचुरुङ्गी, रुख वृक्ष, पाँच पाण्डव लगायत अन्य देवी देवताको चित्रहरुको आकृति बनाएर रातो अवीरले टिक्ने गर्दछन् । भगवान कृष्ण अर्थात कान्हा जन्मेको दिन अष्टमिमा यसरी टिका लगाइदिने अर्थात टिक्ने हुनाले “अष्टीम्की” (अष्टमी + टीका ) नाम रहन गएको हो भन्ने विश्वास छ ।

अष्टीम्की बारेको कथन (तर्क):
पौराणीक कथन अनुसार लोक (ब्रहमाण्ड) तीनवटा छन, १) स्वर्गलोक, २) पाताल लोक र ३) मत्र्यलोक छन् । स्वर्गलोकमा देवी देउताहरु बस्ने गर्दछन । मत्र्यलोकमा मनुस्य लगायत जीवजन्तु र वनस्पति रहेका छन । पाताललोकमा दानबहरु वस्ने गर्दछन् । देवी, देउता र दानवहरुको बिचमा मत्र्यलोकमा शासन गर्नलाई बिभिन्न कालखण्डमा झैं झगडा लडाईहुने गरेको सम्बन्धमा विभिन्न धर्म ग्रन्थहरु पाईन्छ।

दानवहरु मध्ये कंश पनि एउटा ठुलो राक्षस थियो । समय समयमा देवी देउताहरु सँग धावा बोली रहन्थ्यो ।यसै क्रममा पुतिना नामक राक्षसले मौका छोपेर दानब र देउताहरु बिच झगडा पार्ने योजना बनायो । कंशलाई कुरा लगाउने मच्चाउन लगायो । पुतिना राक्षसले कंशलाई भन्यो कि देवताहरुले तिम्रो बहिनी देवकी बाट जन्मेको बच्चा द्धारा तिमी लाई मार्ने षडयन्त्र गर्दैछन । त्यसैले तिम्रो बहिनी देवकी बाट बच्चाहरु जन्म दिन हुदैन भनेर कुरा सुनायौ ।

यदि देवकी बाट बच्चाहरु जन्मे भने पनि मारिदिनु पर्छ भनेर सल्लाह दियो । त्यसपछी कंशले पुतिना राक्षसको सल्लाह बमोजिम बहिनी देवकी र बहिनी ज्वाई बासुदेवलाई जेलमा राख्यो । यसरी जेल भित्र कंशको बहिनी देवकीको कोख बाट जन्मिएका ६ वटा बच्चाहरु मार्दै गयो । देवकी बाट सातौं बच्चा जन्मिने समय अगावै तुहियो । एक समय नारद भगवान आफ्नो सितारा बजादै चार भवन घुम्ने क्रममा मत्र्यलोकमा पुगेका थिए । त्यसै बेला नारदले कंशको अन्याय अत्याचार बारे थाहा पाए ।

त्यसपछि नारद तुरुन्तै फर्केर स्वर्गलोक गए र स्वर्गको राजा ईन्द्र सँग मत्र्यलोकको बोरमा कंश बाट भईरहेको अन्याय अत्याचारको बारेमा जानकारी गराए । इन्द्र भगवानले नारदको कुरा सुन्ने बितिक्कै सबै देवी देउताको बैठक बोलाएर मत्र्यलोकको बारेमा अवगत गराउछन् । मत्र्यलोकको बारेमा जानकारी भएपछि ऋषि दुर्वासाले तुरुन्तै विष्णु भगवान लाई वरदान दिन्छन र द्धापर युगमा विष्णुको सातौ अवतारको रुपमा देवकीको कोखबाट जन्म लिएर राक्षस कंशलाई मार्ने वरदान दिन्छन । सोहि अनुसार भगवान श्री कृष्ण्को जन्म जेलभित्र देवकीको कोख बाट सातौ बच्चाको रुपमा हुन्छ । देवकीको कोख बाट बच्चा जन्मेको थाहा पाएपछि कंशले मार्ने उपाय लगाउँछ तर मार्न भने सक्दैन । बरु उल्टै कृष्णले मामा कंश लगायत तृणावर्त, वकासुर आदि नामक दानब वा राक्षसहरुलाई मारि दिन्छन । कृष्णले आफ्नो आमा देवकी र बुवा बासुदेवलाई जेलबाट छुटाउछन् ।

कृष्ण भगवानको जन्म उत्तर प्रदेश भारतको मथुरा भन्ने ठाउमा उनको आमा देवकी र वुवा बासुदेवको कोख बाट जन्म भएको हुन्छ । भगवान कृष्णको बाल्यकाल गोकुल बृन्दावनमा बितेकोे हो । कंशको अत्याचार बाट बचाउन बुवा बासुदेवले जेलमा कृष्णलाई जन्मने बित्तिकै यमूना नदि पार गराएर गोकुलमा नन्दराज र यशोदाको घरमा पुरयाएको धर्मग्रन्थहरुमा पाईन्छ ।

यसरी कृष्णले कंशलाई चिवली (कुरा लगाउने) राक्षस पुतिनालाई वध (कातमार) गरेर सैनि नामक वृक्षमा पुतिना राक्षस लाई चेप्ट्याई दिन्छन र त्यहि सैनि नामको वृक्षमा देवी देवताहरु बाँदरको रुपमा हाँगाबिगामा बसेका हुन्छन । भगवान श्री कृष्ण पनि आफु स्वयं त्यहि सैनि वृक्षमा अडेस लागेर शान्तीरुपी बाँसुरी बजाउँछन र सबै दीदी बहिनी, चेलीबेटीहरुलाई माया प्रेम लगाउछन भन्ने भनाई रहेको छ । त्यसैले महिलाहरुले भगवान श्री कृष्ण हामी प्रति सदासदा काल सम्म सकारात्मक रुपमा आशिष पाइरहन धुमधाम सँग कृष्ण जन्म अष्टमीमा निराहार व्रत बसेर भगवान श्री कृष्ण प्रति आस्था श्रद्धाभाव राख्दै पुजा आरधना गर्ने गर्दछन् । साथै आफुले चिताएको आशिष माग्ने गर्दछन।

पौराणीक कथा अनुसार अस्टिम्कीको बारेमा अर्को कहावत पनि छ । एक दिन कोटारीन मैरी (कुन्ति) आफ्नो कलकलाउदो बैशमा बाहिर सर्ने (महिनावारी) भईन। कोटाकारिन मैरी बाहिर सरेको पाँचौदिनमा आफ्नो लुगाफाटा सरसफाई गरिन। रातमा सुतेको बेलामा सपनामा सूर्य देवतालाई आफ्नो साथमा बसेको देखिन र आफु गर्भधारण भएको महसुस गरिन जो बिपनामा पनि सत्य सावित भयो । कोटारीन मैरीको गर्भवाट करणवीर राजाको जन्म भयो । पछी पाण्डव महाराज सँग कोटारीन मैरी (कुन्ति) को विवाह हुन्छ । कुन्ति र पाण्डुमहाराजको कोख बाट पाँच पाण्डवहरुको जन्म हुन्छ । पाँच पाण्डवहरु यूधिस्थिर, भिम, अर्जुन, नकुल र शहदेब रहेका छन् । कुरुक्षेत्रको लडाईमा कौरवहरु र पाँच पाण्डवहरु बीचमा यूद्ध हुन्छ ।

कौरवहरुको पक्ष लिएर करणवीर राजा पाँच पाण्डवहरु सँग युद्ध गर्छन्। युद्धमा करणवीर पाँचपाण्डवहरु सँग मारिन्छन। पाँच पाण्डवहरुले लडाईमा करणवीर राजा मारिएको बारेमा आफ्नो आमा कुन्ति सँग जानकारी गर्दछन। तर आमा कुन्तिले किन मारेको ? करणवीर त तिमिहरुको ठुलो दाजु थियो भनेर भन्छिन। तर पाँच पाण्डवहरुले करणवीर आफ्नो ठुलो दाजु रहेको थाहा हुदैन र आमालाई किन पहिलेनै जानकारी नगरेको बारे कुरा राख्छन । यसरी करणवीर राजा पाँच पाण्डवहरुको झत्केलो दाजु रहेको थाहा हुन्छ । किनकी कोटारिण मैरी (कुन्ती) को पाण्डु महाराज सँग विवाह हुनुपूर्व सूर्य देवता सँगको सामिप्यतामा गर्भरहन गएर करणबिर राजाको जन्म भएको हुन्छ ।

यसरी कोटारीन मैरी (कुन्ति) ले सूर्य देवताको सम्बन्धले कोटारीन मैरी (कुन्ति) को मनोकांक्षा पूरा भई करणवीर राजाको जन्म भएको र यसै प्रसंग सँग अहिले पनि महिलाहरुले सूर्य देवतालाई आफ्नो मनोकांक्षा पूरा गर्ने आस्था र विश्वासमा अष्टीम्कीमा पनि सूर्यको चित्र बनाएर अस्टीम्कीमा टिक्ने र पूजा गर्ने गरेको पाईन्छ ।

भगवान कृष्ण अलिक छैलाहा (झिल्के), कर्मविर, सुन्दर र सहयोगी रहेकोले र महिलाहरुको ईक्षा आकांक्षा पूरा गर्ने भएकोले महिलाहरुलाई कृष्णको बानी बयहोरा मन पराएर कृष्ण भगवानको जन्मदिनमा निराहार व्रत बसेर उनिप्रतिको आस्था, विश्वाँस गरेर कृष्णको महिमा गाउने र पूजा गर्ने गर्दछन ।

अष्टमी (अष्टीम्की) मनाउने विधि :
क‌) थारु समुदायमा अष्टीम्की मनाउने आफ्नै मौलिक बिधि रहेको छ । अस्टीम्की को व्रत बसेको अघिल्लो दिन स् अस्टीम्की को व्रत बसेको अघिल्लो दिन भिन्सर्या खाना खानलाई तयारी गर्ने चलन र अभ्यास छ । भिन्सर्या खाना भनेको व्रत बस्ने दिनमा भाले बास्नु पूर्व तयार भएको खाना जिउनार गर्ने हो। भिन्सर्या खाना खानको लागि दूध, दहि, साग, सब्जी, फलफूल, माछा, मासु, गंगटा, घोंघी र भातको पकवानहरु को लागि चाँजो पाँजो मिलाउने कार्य हुन्छ । भिन्सर्या खाना खाने अगावै माथि उल्लेखित पकवानहरु पकाउन भाले बास्नु भन्दा अगाडी निन्द्रा बाट ब्यूझिएर तयार गर्नुपर्ने हुन्छ।

) व्रत (निराहार) बसेको दिन स् व्रत बस्ने कार्य पुरुष वा महिलाहरु आ आफ्नो इच्छा अनुसार ले व्रत बस्ने गर्दछन्। व्रत बस्दा पुरुष वा महिलाहरु सबै जना भिन्सर्या खाना खान उठ्ने गर्दछन्। प्राय गरी सबै महिलाहरु व्रत बस्ने गरेको पाइन्छ । व्रतालुहरू बिहान सबेरै देखि व्रत बसेको दिन सांझ पुजाको लागि सामाग्री जोहो गर्न तिर लाग्दछन । विशेषगरी साँझको पुजाको लागि गाउँको मटावा, बरघर भलमन्साको घरमा अस्टीम्की टिक्न जानलाई लैजानु पर्ने पुजा सामाग्रीहरुको व्यवस्था गर्ने गरेको पाइन्छ।

मटावा -बरघर – भलमन्साको घरमा बिहानै देखि बहरी लिपपोट गर्ने, अस्टीम्की टिक्ने ठाउको भित्ता वा डेह्रीलाई राम्रो संग लिपपोट गर्ने गरि र चित्रहरु बनाउने ठाउलाई सेतो टल्कने माटो वा चुनले रंगाउने गरिन्छ । चित्र बनाउने ठाउ राम्रो संग सुकेको छ छैन भनेर बिचार गरी ब्रतालु बसेको घरको व्यक्ति द्वारा चित्रहरु बनाउने कार्यको शुरु हुन्छ । गाउको अन्य ब्रतालुहरु पनि मटावा ÷ बरघर÷ भलमन्साको घरमा गएर चित्रहरु बनाउनमा मद्दत गर्ने अभ्यास रहेको छ । साना साना नानि बाबुहरू पनि चित्र बनाउने कार्यमा संलग्न हुन्छन । तर उनीहरु सिकारु हुने हुनाले छुट्टै ठाउको व्यवस्था गरिएको हुन्छ ।

अष्टमीको चित्रमा बनाउन सकिने मुख्य चित्रहरू:
चित्र बनाउने भित्ता अथवा डेहरीमा सबै भन्दा तल गंगारनदी बगिरहेको चित्रहरू रहने गर्दछ। गंगारनदीमा दुंगा सवार गराई रहेको मान्छेको चित्र रहेको हुन्छ खासगरी कुकुर र कुकुर्नीको ९समागम० भइरहेको चित्र र यस्को साथमा उल्टा मुन्टो भएको राक्षस पुतिना को चित्र, रुखको हाँगाहरुमा बाँदरहरुको चित्र, भगवान श्री कृष्ण रुखमा बसेर वा ओत लागेर बासुरी बजाइ रहेको चित्र, सिता रानीको बिबाहमा प्रयोग भएको डोलीको चित्र, पांच पाण्डवहरुको चित्र, कौरबहरुको चित्र, रावणको चित्र, चित्र बनाउने ठाउको माथि दायाँ तिरको कुनामा सुर्यको चित्र र बाँया तिरको कुनामा चन्द्रमाको चित्र, पुरिन पातक चित्र, उँटको चित्र, हात्तिको चित्र, भाले मयुर र पोथी मयुरको चित्र, सर्प, भ्यागुता, बिच्छी इत्यादिको चित्र बनाएको हुन्छ ।

थारुलोक मान्यतामा गुर्वावालाई श्रृष्टि कर्ता मानिन्छ । यहि श्रृष्टि सँगको अवधारणा सँग सम्बन्धित रहेर अष्टीम्कीको चित्रमा ब्रहमाण्ड, प्रकृति, जलचर— थलचर जीव वनस्पति, मानब जीवन हुँदै थारुहरुको दैनिक जीवनशैली बारे अनेकपक्षहरु अष्टीम्की चित्रमा उल्लेख गर्ने प्रयास पाईन्छ । त्यसैंले अष्टीम्कीको चित्रलाई केवल रंगीबिरंगी चित्र मात्र नभएर यो थारु आदिबासीहरुको जीवन कथा हो । र अझ बृहत रुपमा यसलाई जीवन चित्र महाकाव्य भन्दा पनि अतियुक्ति नहोला ।

माथि उल्लेखित चित्रहरू मध्य केहि चित्रहरु लाई महत्वका साथ उल्लेख गर्न जरुरी छ। थारु आदीवासी समुदाय प्रकृति पुजक रहेकाले पृथवीमा रहेको जीवजन्तु, पशु–पन्छी, किरा–फट्याङ्ग्रा, जलचर थलचर जीवहरु, बनस्पतिहरु, हिंस्रक जनावर, बिषालु किराकाँटी, सूर्य, चन्द्रमा, समुन्द्र, ताल तलैया इत्यादि लगाएत ब्रह्माण्डमा रहेको सबै चिज बस्तुहरुको चित्रहरुलाई समेट्ने प्रयास गरिएको पाइन्छ । तल मुख्य रुपमा अस्टीम्कीको चित्रहरुको बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

क) पाँच पाण्डवहरूको चित्र स्— चित्र बनाउने भित्ता वा डेहरीमा अग्र लाइनमा छाता हातमा लिएका पाँच जना पुरुषहरुको चित्र रहेको हुन्छ । यि पांच पुरुषहरु पांच पाण्डवको प्रतिक को रुपमा रहेको बिश्वास छ । हातमा लिने, पाँच पाण्डवहरूको चित्र रहने हुन्छ । यी पाँच पाण्डवको १४ वर्ष बनवास गएको बेला उकालो ओरालो गर्दै जंगल मा घुम्ने बेला घाम पानी, हुरी हावाबाट जोगिन छाताको ब्यबस्था गरेको चित्रण मान्न सकिन्छ ।

ख) द्रौपदीको प्रतिकको चित्र: अस्टीम्की टिक्ने डेह्रि वा भित्तामा दोस्रो लहरमा ५ जना महिलाहरुको चित्र बनाउने गरिन्छ । उनिहरुलाई द्रौपदीको प्रतिकको रुपमा रहेको मान्न सकिन्छ ।

ग) वरमूर्वाको चित्र: अस्टीम्की चित्रमा महाभारत चित्र सँगै रामायणको कथाको पनि चित्रमा समावेश भएको पाईन्छ । बाह्रवटा टाउको भएको वरमूर्वा अर्थात रावणको चित्रलाई डेह्रि वा भित्ताको विच भागमा बनाएको पाईन्छ । तर वरमूर्वा अर्थात रावणको चरित्र सामाजिकरुपमा नराम्रो भएकाले अस्टीम्की टिक्ने बेला वरमूर्वालाई टिक्ने प्रचलन हुँदैन । यदि कसैले झुक्किएर टिका लगाएमा सो ब्यक्तिको बालबालिका पनि नराम्रो चरित्रको हुने विश्वास थारु समुदायमा रहेको छ ।

घ) अस्टीम्की टिक्ने भित्ता वा डेह्रिमा डोलीको चित्र: अस्टीम्की टिक्ने भित्ता वा डेह्रिमा विवाहको डोलीको चित्र रहेको हुन्छ । यो डोली भगवान राम र सिताको बिवाहको प्रतिकको रुपमा लिईन्छ । यसै बिचमा मादल बजाउनेहरु र नाँच्ने नर्तकीहरुको चित्रले पनि स्थान पाएका हुन्छन ।

ङ ) डुंगामा बसेको गुर्वावाको चित्रः थारु लोकोक्तीमा गुर्वावालाई सृष्टि कर्ताको रुपमा मानिन्छ र सृष्टि कर्तालाई अस्टीम्की टिक्ने भित्तामा महत्वपूर्ण स्थान दिईएको हुन्छ । पृथ्वी लोक जलमग्न भएको बेला सृष्टि कर्ता गुर्वावाले दुधि गड्यौला लाई पातालमा माटो लिन पठाई पृथ्वी लोक लाई थल (धरती) मा परिणत गरेको कथा “गुर्वावक जन्मौटी” कथामा उल्लेख छ । पृथ्वी लोकमा प्रलय हुँदा गुर्वावाले बेदलाई डुंगामा चढाई जोगाएको कथा अनुसार अष्टीम्कीको चित्रमा डुंगामा सयर गर्न लागेको चित्रले स्थान पाएको छ । यसरी मटावा ÷वरघर ÷भलमन्साको घरको बह्रि (बैठक कोठा) को भित्ता वा डेह्रिमा दिनभरि लगाएर व्रत बस्ने महिला पूरुषहरुले चित्रहरु तयार गर्छन ।

अस्टीम्की टिक्न जाने पूर्वको तयारी र पूजा:
बिशेष गरि बर्तालु महिलाहरु आ आफ्नो घरमा, मटावा -वरघर -भलमन्साको घरमा अस्टीम्की टीक्न जानलाई तयारी गर्दछन । अस्टीम्की टिक्न जाने प्रत्येक महिलाको लागि छुट्टै थाल वा सालको पत्रिमा चामल राख्ने, चामल माथी माटो वा तामाको पालामा तोरीको तेलको बत्ति बाल्ने, घुन्यासाको फुल, पसाएको धानको बोट, पातीफूलको बोट, मकैको बोट, अम्ला, लरङ्गीको फल सहित जाने गर्दछन । मटावा, वरघर, भलमन्साको घरमा दिन भरिको व्रत पछि टिक्न जानेहरु नयाँ नयाँ लुगा लगाउने र गहनाहरुले सजिएर जाने गर्दछन् ।

सबै जसो घरबाट मटावा ÷वरघर ÷भलमन्साको घरमा टिक्न जम्मा भएपछि आ आफ्नो बलेको बत्ति (पाला) आफुले लगेको चामलमाथी राख्ने र वरीपरी आफूले लगेको फूलहरुको बोट र हाँगाहरु लाईन लगाएर राख्ने चलन छ । यस पश्चात सबै व्रतालुहरुले पालैपालो गरेर भित्ता वा डेह्रिमा बनाएको चित्रहरुलाई रातो सिन्दुर वा अविरले टिक्ने गर्दछन् । टिक्नेकार्य सर्बप्रथम सूर्य, चन्द्रमा, गुर्वावा बाट शुरु गर्ने गर्दछन् ।

घुन्यास्रा फुलको महत्वः अष्टीम्की टिक्न जाँदा बिशेष गरी घुन्यास्रा को फूल नै अनिवार्य त होईन तर त्यो फुल अष्टीम्की टिक्ने समयमा पहे.लो र रातो रंगमा फुलेको हुन्छ । यो समयमा अन्य धेरै फुलहरु फुलेको पाईदैन । घुन्यास्रा को फुल ढकमक्क फुलेको समयमा अस्टीम्कीलाई पनि सुहाउने बनाउने हुनाले यस फूलको उपयोग भएको पाईन्छ ।

चामल, दियो बत्ति र फुलहरुः चामल, दियो बत्ति र फुलहरु देवी देवताहरुलाई ससोभित गर्दा बिशेषरुपमा उपयोग हुन्छ । त्यसरी त अष्टीम्कीको चित्रहरुमा आधा जसो देवी देवताहरु र आधा जसो दानव (राक्षस) हरुको चित्र हुने गर्दछ । देवी देवतालाई आस्था राख्ने, सम्मान भाव प्रकट गर्ने र पुजन गर्ने कार्यको लागि चामल, फुल र बत्ति बाट हुने गर्दछ त्यसैले अष्टीम्की टिक्न जाँदा व्रतालुहरुले यि माथी उल्लेखित चीजवस्तु उपयोग गरेको पाईन्छ ।

अम्ला (अमिलो) लरङ्गी, र कागति को उपयोगः अष्टीम्की चित्रमा दानब (राक्षस) हरुको चित्र पनि रहेको हुन्छ । दानबहरुले अमिलो मन पराउने हुनाले अमला, लरङ्गी, र कागति लाई अष्टीम्कीमा उपयोग गरेको भन्ने विश्वास छ । डेह्रि र भित्तामा बनाएका चित्रहरु लाई टिक्ने बेलामा अस्टीम्की गीत गाउने चलन छ ।

जस्तै:
१) पहिल त शिरजल री जलथल धरती ।
शिरिजीत गैल री कुश री कै दाफ ।।
२) अन्न कहल री मै बरा हुइटु ।
देउता कहल री मै बरा हुइटु ।।
देउता त लिहल री अन्न री कहि बास ।।

सबै व्रतालुहरु मटावा÷वरघर÷भलमन्साको घरमा अष्टीम्की टिकेर सम्पन्न गरेपछि सबै जना आ आफ्नो घरमा गएर फलार (फलफूल जन्य चिज वस्तु) र दुध दहि काहार्ने (पूजा गर्ने मौलिक चलन) गर्दछन् ।
जस्तैः प्रत्येक व्रतालुले दुना टपरीमा फलफूल (बेलौटी, केरा) राख्ने र खिरा काटेर चिरा पारेको पिस छुट्याएर राख्ने, दुनामा दहि छुट्याएर राख्ने चलन हुन्छ । त्यसपछि व्रतालुको अगुवाले आगोमा घ्यू राखेर सबै देवि देउटाहरुलाई सुगन्धित गरे पश्चात दुई हात जोडी चोखो जलले पर्छेर जिउनार शुरु हुन्छ ।

व्रत बसेको दिन व्रतालुले फलार बस्तु मात्र खाने चलन छ । अन्न तथा नुनिलो बस्तु खान हुदैन । घरमा साँझको पुजा पश्चात भोलीपल्ट बिहान फह्रार भात (चोखो भात) तरकारीको लागि पकाउने जोहो गरेर गाउको व्रतालु महिलाहरु सबै जना मटावा÷वरघर÷भलमन्साको घरमा अष्टीम्कीको गित गाउन जाने गर्दछन् ।
जस्तै:

१) पहिल त शिरीजल री जलथल धरती ।
शिरिजीत गैल री कुश री कै दाव ।।
२) सिरजीत गैल मोर कैलि र कुश दाब ।
सिरजीत गैल मोर यता र कुस ।।
३) खेतिपातिक दिन र इशरु याइत पुगल ।
कैहया जैब्या इशरु र हरवा ओहार ।।
४) तै का रि जासु हर ओहार पठैथ्या
मोर लाग जासु भात भतौरा रीझा ।।
५) अतरा वचल री जासु सुनित दारल ।
चली भईल जासु भात भतौरा रिझा ।।
६) कोठिया से कारल जासु सोनकी बटुलीया ।
जेहिमन निधल जासु उरमदकैर घिउना कैर दाल ।।
७) कोठिया से कारल जासु सोनकी बटुलिया ।
जेहिमन निधल जासु रहुवम कैर धेउना कैर मूरिया ।।

यसरी रातभरी मटावा÷वरघर÷भलमन्साका घरमा अष्टीम्कीको गीत गाएर रात कटाउँछन् । घरघर मुर्गा बोल (भाले डाक) सँगै गीत गाउनेहरु आ आफ्नो फह्रार भात र पकवान को तयारीमा जाने गर्छन ।

अष्टीम्कीको दोस्रो दिनः
बिहानको पूजाः विहान मिर्मिरे उज्यालोमा सबै गाउँको व्रतालुहरु मटावा÷वरघर÷भलमन्साको घरमा नयाँ नयाँ लुगा र गरगहना बाट सुसज्जीत भएर जान्छन । अघिल्लो दिन साँझ अष्टीम्की टिक्न गएको समयमा लगेको आ आफ्नो बत्ती (पाला) बलेको शुनिष्चित गर्दछन । यसका साथै लगेको फलफुल (अम्ला, लरङ्गी ) को पनि शुनिष्चितता गर्दछन किनकी मटावा÷वरघर÷भलमन्साको घरमा जागाराम गर्न गएकाहरुले खाने गर्दछन ।

गाँउका सम्पूर्ण व्रतालुहरु बिहान मिर्मिरेमा मटावा-वरघर-भलमन्साका घरमा जम्मा भईसकेपछि दोस्रो दिन बिहान सबै व्रतालुहरु पालो, पिलो अष्टीम्की टिक्ने कार्य शुरु हुन्छ । अष्टीम्की टिक्ने काम शुरुमा मटावा÷वरघर÷भलमन्साको घरको जेष्ठ व्रतालु बाट शुरुहुन्छ । त्यसपछि क्रमशः गाउँको व्रतालुहरुले टिक्ने गर्दछन। बिहानको अष्टीम्की टिक्ने बेला अष्टीम्कीको गीत पनि गाउने गर्दछन । जस्तैः

१) कोठियासे कारल जासु सोनकी बटुलिया ।
जेहिमन डारल जासु एकला छेगरा कहिं मास ।।
२) कोठियासे कारल जासु सोनकी बटुलिया ।
जेहिमन निधल जासु घुरकी परिउन कैर मास ।।
३) कोठियासे कारल जासु सोनकी बटुलिया ।
जेहिमन निधल जासु दाखी दरिउना कहि साग ।।

बिहानको अष्टीम्की टिकेर सकेपछि सम्पूर्ण ब्रतालुहरु आ आफ्नो बलेका बत्ती सालको टपरीमा राखेर, फलफुल, पुष्प र वनस्पति लिएर एकसाथ पाँटा लागेर गंगाजल, नदि वा खोलामा बत्ति, पुष्प र फलफुल सेलाउन जान्छन ्। गंगाजलमा सेलाउदा फलफुलहरु बिशेष गरि अम्ला, लरङ्गी, कागति लुट्न पूरुष केटाहरु जाने गर्दछन । बलेको पाला, पुष्प र वनस्पति सेलाएर गंगामा स्नान गरेर आ आफ्नो घरमा फर्केर आउदा गंगा बाट चोखो जल पनि ल्याउने गर्छन ।

अष्टीम्कीको फह्रार पूजाः फह्रारमा घ्यूको वासनायुक्त चोखो भात र विजोडारुपमा तयार गरेको साग सब्जी, तरकारीहरु जस्तैः ३ प्रकार, ५ प्रकार, ७ प्रकार को खाने परिकार तयार गरेको पाईन्छ । सबै व्रतालुहरु घरको एक कोठामा ब्यवस्थित बस्ने गर्दछन। घरको व्रतालु मध्ये जेष्ठ ब्यक्ती बाट फह्रार काहार्ने (खाने परिकारबाट छुट्टै दुना, टपरीमा भाग छुट्याउने) कार्य शुभारम्भ हुन्छ । सबै ब्रतालु महिलाहरुले आफू निहार व्रत पछि अन्न ज्यूनार गर्नुभन्दा पहिले आफ्ना दाजुभाईहरु लाई चोखा अन्नको खानाको भाग छुट्याएर राख्ने गरिन्छ । त्यसपछि जेष्ठ व्रतालुले आगोमा घ्यूको सुगन्धित धुपबाट धुपाएर वातावरण सुगन्धित गरेपछि गंगाजल बाट ल्याएको चोखो पानीले पर्छेर दुई हात जोडेर अस्टीम्की फह्रार पूजा सम्पन्न गर्दै निहार व्रतलाई मिठो अन्नको परिकार ज्यूनार गरेर सम्पन्न गर्ने गर्दछन ।

फह्रार खानाः व्रतालु महिलाहरुले आफुले छुट्याएको फह्रार खाना आ आफ्नो दाजुभाईहरुलाई खानको लागि अनुरोध गर्दछन््। यदि दाजुभाई सोहि गााउँ वा अन्य गाँउमा रहेको अवस्थामा फह्रार छुट्याएको खानाको पकवानको भाग लिएर दाजुभाईकहा पुरयाउने गर्दछन । फह्रार खाना दाजुभाईको लागि दिदि वा बहिनीले छुट्याएको महत्वपूर्ण खाने कोशेलीकोरुपमा थारु समुदायमा लिने गरिन्छ । फह्रार पुजा पश्चात गाउले साथीसंगीहरु मिलेर लाखे जात्रा हेर्न जाने गर्छन । यसरी मौलिक अष्टीम्की पर्वको समापन हुने गर्दछ ।

अष्टीम्कीका बिशेषताहरुः
अष्टीम्कीको खाना साग सब्जी (अग्रासान) को पकवानहरु आफ्नो दाजुभाईहरुलाई पहुराको रुपमा दिने अभ्यास र चलनले दाजुभाई दिदिबहिनी बिच माया प्रेम साटासाटले एक अनुपम सम्बन्ध जुग जुग सम्म रहने विश्वास रहेको छ । पारिवारिक सम्बन्धलाई पनि मजबुट बनाएको पाईन्छ ।

– थारु समुदायले कृष्ण भगवानप्रति आस्था राखेर निराहार व्रत बसेर गर्ने पूजा धार्मिक आस्थाको भावना प्रकट गर्न आफैमा महत्वपूर्ण पक्ष रहेपनि “अष्टीम्की” व्रत र पूजा गर्न तयार पारिएको ठाउमा भएको चित्रहरुको संगमले थारु कृषि, प्रकृति, सृष्टि, जीवजन्तु, वनस्पति, सामाजीक जीवनशैली, गीत मार्फत हुने अभिब्यक्तिहरुले पुस्तौ पुस्तामा हस्तान्तरण, प्रस्तान्तरण ले हुदै आएको एक अदभुत सम्पदा र सभ्यताको पहिचान दिने गरेको छ ।

– अष्टीम्की टिक्नलाई डेह्री वा भित्तामा बनाएको चित्रहरुको भावार्थ, आसय र संकेत व्रहमाण्ड, प्रकृति, जलचर, थलचर, जीव, मानव इतिहास र थारु जीवनशैली सँग तादाम्यता ब्यक्त गरेको चित्रले थारु समुदायको चित्रकाब्यको संकेत गर्दछ ।

– अष्टीम्कीको चित्रले भगवान कृष्ण सँगको आस्था सँग सम्बन्धित पक्षलाई मात्र ईगित नगरि हाम्रो पूर्खाहरुको मौलिक ज्ञानलाई सांकेतिक चित्र मार्फत ब्यक्त अभिब्यक्तीको संकेत, जलचर, थलचर, जीवहरुको सम्बन्ध, पर्यावरण सँगको माया, ज्ञान र महत्व र समाज बिज्ञानको अनुपम आर्किटेक्चरको रुपमा प्रदर्शनि भएको पाईन्छ ।

– अष्टीम्कीमा गाइने गीतले साचिकै हाम्रो पूर्खाहरु बैज्ञानिक थिए । जसले यी सृष्टि कसरी भएको रहेछ भन्ने पक्षलाई लयबद्ध गरिदिएको पाईन्छ ।

– अष्टीम्कीको चित्र समाजको एक किताब हो भने सो कितबामा रहेको गीत र यसको भावार्थ हाम्रो समाजको ऐतिहासिक सभ्यताको पहिचान हो ।

– अष्टीम्कीको गीतमा इशरु र जासुको मर्मस्पर्शी गीतको सम्बादले हाम्रो यूवा पिढी लाई अनुभवी प्रौढ पिढीले कसरी उच्चतम अभिभावक र यूवाहरुले नैतिक आचरण लाई सिक्ने शिप, ज्ञान र व्यबहारमा अनुसरण गर्न सक्ने अवसर प्रदान गर्दछ ।

– श्रृष्टिलाई खल्वलिन नदिन प्रकृति, जिवजन्तु, वनस्पती, मानव इत्यादी विच सहअस्तित्व रहनुपर्छ भन्ने अस्टीम्की चित्र काव्यले प्रस्ट्याउछ।

अष्टीम्कीको मौलिकताको चुनौतिः
आजभोली अष्टीम्की पर्वलाई अन्य समुदायको देखासिकी गरेर अष्टीम्की पर्वभन्दा फरक तिथीमितिमा अष्टीम्कीको नाममा कार्यक्रम गर्दा अष्टीम्कीको मौलिकता र महिमा मा प्रहार हुदै गएको पाईन्छ । विश्व भुमण्डलीकरणले सबै क्षेत्रमा असर गर्ने पक्ष भएपनि हामीले सकभर हाम्रो सबै पर्व। संस्कार, संस्कृतिहरु मैलिकतामा अभ्यास गर्नुपर्ने देखिन्छ । त्यसैले अष्टीम्कीलाई अष्टीम्कीकै तिथी मितिमा रमाऔं । अष्टीम्कीको चित्रलाई डेह्री वा भित्तामा नै प्राकृतिक रंगबाट नै तयार गर्ने अभ्यासलाई निरनतरता दिऔ । शहर बजारमा फ्लेक्स प्रिन्ट र पोष्टरको प्रयोगले हाम्रो चित्र कलाको वैभव ज्ञानलाई रोकावट नगरौ ।

अष्टीम्कीमा गाउने गतिले नै हामी प्रकृति, सृष्टि, कृषि लगायतको जीवन दर्शन तथा महाकाव्य प्राप्त गरेका छौ । यसैमा हाम्रो कला शिप र अभयासको निरन्तरता दिन जरुरी छ । हाल आएर अष्टीम्कीको महिमा र मर्म बिपरितका हाम्रा नाँच गीत र खानपानले हाम्रो मौलिकताको क्षयीकरण गर्दै गएको पाईन्छ । धेरै जसो थारु गाउँहरुमा मटावा-वरघर-भलमन्साको चलननै नभएको अवस्था छ । त्यसैले अष्टीम्की लाई मटावा÷वरघर÷भलमन्साको घरमा सामुहिक रुपमा मनाउने चलनमा ह्रास आएको छ । ब्यक्तीगतरुपमा मात्र सिमित हुँदा अष्टीम्कीको मौलिकपन नै ह्रास भएको छ ।

प्रौढपुस्तामा भएको अष्टीम्की पर्वको ज्ञान, शिप र चलन सम्बन्धमा हस्तान्तरण, पुस्तान्तरणमा कमी छ भने नयाँ यूवा पूस्ताले पनि महत्वका साथ अगाल्ने कार्यमा कमी देखिन्छ । त्यसैले यूवा पुस्तालेनै अग्रसर भएर यसबारे सिकाई थाल्न जरुरी छ । यद्धपी केहि यूवा अभियन्ताहरुले यसलाई अभियानको रुपमा पश्चिम नेपालमा लागु गरेको बारे नकार्न सकिदैन ।

सन्दर्भ ग्रन्थहरुः
— थारु, चन्द्र प्रसाद — (२०५७ वि.स.) —हमार रिति हमार धर्म ।
— थरुनी, सोमती — (२०८३ वि.स.) — अस्टिम्की र दशैह्या गीत ।
— चौधरी, लखन — (वि.संं २०८१ भदौ) — संग्रहलेख पैराणीकलोक चित्रमा पुजा गर्दै थारु समुदाय मनाईन्छ अष्टीम्की ।
— चौधरी, निता — (वि.स. २०८२)— लेख —थारु म्हिलाहरुको महानपर्व श्री कृष्ण जन्माष्टमी (अष्टीम्की) कसरी मनाईन्छ ?

अस्तु
(लेखकः बेस संस्थाको कार्यकारी निर्देशक एंव थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस