२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

तुलसीपुरुको बजेट १ अर्ब ७९ करोड ४५ लाख

तुलसीपुर उपमहानगर–पालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार बराबरको बजेट ल्याएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि करिब ७ करोड बजेट कम ल्याएको उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।

नगरप्रवक्ता माधव वलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष चालुतर्फ ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात् कुल बजेट खर्चको २६।२३ प्रतिशत र पुँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ कुल बजेट खर्चको ७२।९३ प्रतिशत विनियोजन गरिएको छ ।

उपहानगरपालिकाले कृषिमा पकेट विकास कार्यक्रमहरूदेखि संघ र प्रदेशसँग समन्वय गरी वडा नं। ४, ११, १८ र १९ मा स्थानीय रैथाने धानको पकेट क्षेत्र निर्धारण गरी उत्पादनमा जोड दिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा ‘श्रमको सम्मान, समृद्धिको अभियान’ अन्तर्गत मेयरसँगै श्रमदान अभियान सञ्चालन गरी मझौला खालको विकासलाई बढाउने बजेटमा समेटेको छ ।

तुलसीपुर उपमहानगर–पालिकाले आर्थिक वर्ष ०८०र०८१ को बजेट कार्यान्वयनका लागि ‘विकासमा जनसहभागिता नगद तथा श्रमदान’लाई उच्च प्राथमिकता दिएको छ । नगरले आन्तरिक श्रोतबाट २१ करोड, स्थानीय तह राजस्व बाँडफाँड मालपोत रजिष्टेशनबाट १२ करोड, ढुंगा, गिट्टीबाट प्राप्त ३ करोड र विज्ञापन कर १५ लाख गरी कुल आन्तरिक आम्दानी ३६ करोड १५ लाख अनुमान गरेको छ ।

यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानिकरण अनुदान २९ करोड ८ लाख, सशर्त अनुदान ६५ करोड १३ लाख, समपूरक अनुदान ७५ लाख, विशेष अनुदान १ करोड र राजस्व बाँडफाँड संघ २३ करोड २ लाख ७१ हजार, खानी र वन रोयल्टी १५ लाख गरी कुल १ अर्ब १९ करोड १३ लाख ७१ हजार प्राप्त हुने नगरले जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानिकरण अनुदान २ करोड २३ लाख, ४१ हजार सशर्त अनुदान २ करोड ३६ लाख, ५० हजार समपुरक अनुदान २ करोड, राजस्व बाँडफाड प्रदेश २ करोड ११ लाख ३० हजार ७ सय ५० कुल ८ करोड ७१ लाख २१ हजार ७ सय ५० को अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस