२०८३ भाद्र २६ गते शुक्रवार | 2026 September 11th Friday

जोखिम न्यूनीकरणमा स्रोतसाधनको कमी हुँदैनः मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लाहरू बाढी, पहिरोको उच्च जोखिमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने बताएका हुन् । लमही नगरपालिका–६ मध्यनगरस्थित राप्ती नदी किनारमा भएको अभ्यास हातेमालोको समापनका अवसरमा उनले यस्तो बताएका हुन् ।

एकीकृत अभ्यासले स्रोतसाधनको परिचालन, खोज तथा उद्धार एवं पुनस्र्थापनमा कसरी काम गर्न सकिन्छ भन्ने कुराको सहजै जानकारी दिने भएकाले यस्ता अभ्यासहरू विपद् प्रतिकार्यका लागि आवश्यक भएको बताएका थिए । उनले संघ, प्रदेश र स्थानीय सरकार, तीनवटै सुरक्षा निकाय, गैरसरकारी संघसंस्थाहरू एकैसाथ परिचालन हुँदा विपद् प्रतिकार्य सफल हुनसक्ने र यसका लागि समुदायका नागरिकहरूको समेत सहयोगको आवश्यकता पर्ने पनि बताए ।

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आइपर्ने पानीजन्य विपद्सहित जुनसुकै विपद्को सामना एकीकृत रूपमा गर्ने तयारी गरिएको बताए ।उनले विपद् प्रतिकार्यका लागि हरेक जिल्लामा तीन सय तालिमप्राप्त सुरक्षाकर्मी रहेको बताए ।

विपद्ले हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिने भएकाले जोखिमको बेलामा सबै सतर्क रहन लुम्बिनी सरकारको आग्रह छ । लुम्बिनी प्रदेशमा बितेको ११ वर्षमा पानीजन्य विपद्का कारण २ सय १७ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते र ९७ जना वेपत्ता भएका छन्।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस