गुरु पूर्णीमामा विद्यार्थीलाई विरुवा उपहार
दाङ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विरुवा रोपेका छन ।
एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको बार्षिक कार्यक्रम अनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तिमा दुइ वटा बिरुवा प्रदान गरेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको विशिष्ट आतिथ्यतामा बिरुवा प्रदान गरिएको थियो ।
विरुवा प्रदान गर्दै प्रमुख अतिथि पाण्डेयले विद्यालयले वन र वातावरणप्रति सानैदेखि विद्यार्थीहरुलाई सचेतिकरण र सहभागी गराएकोमा खुसी व्यक्त गर्दै रोपिएका बिरुवा संरक्षणमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विरुवा वितरण कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले गर्नु भएको थियो ।

यसैबिच घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा पनि सोमवार विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको छ । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अन्र्तगत विद्यालयमा अध्ययनरत करिव पाँच सय विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यता र प्रगतिशिल टोल बिकास संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेको बिशिष्ट आतिथ्यतामा विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको थियो ।

डिभिजन वन कार्यालय दाङको “एक घर दुई वृक्ष,शहर हाम्रो बनाउ स्वच्छ” कार्यक्रम र विद्यालयको “एक विद्यार्थी दुई विरुवा,संरक्षण गरौं पानीको मूल र जरुवा” भन्ने कार्यक्रम अनुसार गुरु पूर्णिमाको अवसरमा सोमवार दुवै विद्यालयमा अध्ययनरत एक हजार पाँच सय बढी विद्यार्थीहरुलाई दुई वटाका दरले तीन हजार बढी विरुवा वितरण गरिएको हो ।
बितरण गरिएका विरुवा विद्यार्थीहरुले रोपेका छन । कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनि, टिमुर, कल्की, राजवृक्ष, छतिवन लगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरुको चाहना अनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका “समाज र विद्यालय सँगसँगै” कार्यक्रमका संयोजक ध्रुबराज पौडेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरुमा जल, जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगी अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम शुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभयो ।
