सामाजिक विकासमा केन्द्रित स्थानीय बजेट
दाङ, २१ असार ।
स्थानीय तहहरू सामाजिक विकासमा जोड दिन थालेका छन् । पालिका वडाको विकास अहिले सामाजिक विकासमा केन्द्रित भएको हो ।
वडा सरकार सामाजिक विकासमा केन्द्रित हुन थालेका छन् । सामाजिक विकासलाई मजबुत रूपमा चलाउनको लागि वडाले विभिन्नखाले कामहरू गर्दै आएको छ ।
स्थानीय तहमा दोस्रो कार्यकालको लागि नयाँ जनप्रतिनिधि आएको करिब १४ महिना पुग्दै छ । यस अवधिमा वडाले धेरै कामहरू गरिसकेको जनाएको छ ।
वडाले शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, सरसफाई लगायतको क्षेत्रमा बजेट विनियोजन गरेर काम गदै आएको दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ वडा अध्यक्ष भानसिंह बुढाले बताए । वडाले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, महिलाको पाठेघरको मुखको क्यान्सर, नियमित खोपको कार्यक्रम गर्दै आएको छ ।
ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्रलाई वडाले सहयोग गदै आएको छ । दिवा सेवा केन्द्रमा दैनिक रूपमा २५ देखि ३० जनासम्म जम्मा भएर भजनकीर्तन गर्ने गरेको सचिव लुमाकान्त कँवरले बताए ।
दैनिक रूपमा सबैको मागअनुसार कहिले चिया, फलफूलहरू खाने र नाचगान गरेर ज्येष्ठ नागरिहरूको दैनिकी चलेको छ । बिदा सेवा केन्द्र अहिले सबैको सुखदुःख साट्ने थलो बनेको छ । घरमा हुँदा आफ्नो कुराहरू शेयर गर्न नपाएकाहरू अहिले खुसी भएका छन् ।
पहिले वडाले सहयोग नगर्दा आफैले नै रकम संकलन गरेर काम गदै आएकोमा अहिले वडाले सहयोग गर्दा ज्येष्ठ नागरिकहरू धेरै खुसी भएको सचिव कँवरले बताए ।

वडाले ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्रको लागि चालु वर्षमा कुर्सी खरिदका लागि १० हजार र खाजा खर्चको लागि ४० हजार गरी ५० हजार रूपैयाँ छुट्याएको छ । त्यति मात्रै नभएर वडाले ज्येष्ठ नागरिकको लागि निःशुल्क स्वास्थ्य जाँच पनि गर्दै आएको छ ।
महिनाको एकपटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टर र शहरी स्वास्थ्य केन्द्र, संस्थागत परिवार नियोजन क्लिनिकका स्टार्फ नर्सहरू आएर स्वास्थ्य चेकजाँच गर्ने गरेको वडाले जनाएको छ ।
निःशुल्क रूपमा स्वास्थ्य जाँच गाराउन पाउँदा ज्येष्ठ नागरिकहरू खुसी भएका छन् । सामान्य औषधी निःशुल्क रूपमा दिने गरिएको छ । नयाँ जीवन पाएको ज्येष्ठ नागरिकहरूले प्रतिक्रिया दिने गरेका छन् । स्वास्थ्य जाँचका लागि हिडेर आउन नसक्नेका लागि वडाले एम्बुलेन्सको व्यवस्थासमेत गरेको छ ।
वडाले चालु वर्षमा ७० वर्षका जेष्ठ नागरिकहरूका लागि स्वास्थ्य चेकजाँच तथा औषधि उपचारका लागि ८० हजार बजेट छुट्याएको थियो । ७० वर्षसम्मका एक सयजनाले सेवा लिएको वडाले जनाएको छ । त्यसैगरी विपन्न ज्येष्ठ नागरिकहरूको लागि न्यानो कपडा वितरणका लागि ५० हजार रकम छुट्याएको कार्यक्रम गरिसकेको छ ।
महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको लागि परिवार नियोजन संघबाट सेवा दिने गरेको छ भने वडाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स कार्यक्रम पनि सञ्चालन गरेको छ ।
मानिसको जीवनमा सरसफाई नभई नहुने कुरा हो । स्वास्थ्यलाई सरसफाईसँग जोडेर वडाले सरसफाईसम्बन्धी टोलहरूलाई अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ ।
नियमित रूपमा हप्ताको एक दिन घर अगाडि सफा गर्न सिकाउने, गल्ने र नगल्ने फोहोरलाई छुट्याउन सचेत गराएको वडा अध्यक्ष बुढाले बताए । नगर सरसफाई शाखाबाट गल्ने फोहोरलाई व्यवस्थापन गर्नको लागि टोल विकास संस्थामा डस्टविन वितरण पनि गरेको छ ।
वडाले टोलहरूलाई अभिमुखीकरण तालिम दिएपछि टोलमा सरसफाई कार्यक्रम पनि हुने गरेको छ । वडाले प्रशिक्षण कार्यक्रम दिएसँगै टोलले सरसफाईको काम गदै आएको झिगौँरा टोल विकास संस्थाका अध्यक्ष बल बहादुर चौधरीले बताए ।
हप्ताको प्रत्येक शनिबार टोलले सरसफाई गर्ने गरेको उनले बताए । ९२ घरधुरी रहेको झिगौँरामा गल्ने फोहोर र नगल्ने फोहोर छुट्याएर राख्ने गरिएको छ ।
वडाले सरसफाईसम्बन्धी कार्यक्रम गरेपछि गाउँ टोलमा शौचालयबाट आएपछि साबुन पानीले हात धुने कुरा पनि टोलमा सिकाउँदै आएको उनको भनाइ छ । ४२ वटा टोलमा फोहोर संकलनको लागि वडाले डस्टविन पनि वितरण गरेको छ । सुन्दर सफा हरित वडा बनाउन टोल विकास संस्थासँग ओरेन्टेसन कार्यक्रमको लागि वडाले एक लाख बजेट छुट्याएको थियो ।
वातावरणलाई स्वच्छ बनाउनका लागि झिगाँैरामा रहेको सामुदायिक वनलाई संरक्षण गरिएको छ । त्यस्तै कभड हलको अगाडि नगरको १० लाखको बजेटमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । मन्दी, वडा प्रहरी कार्यालय र कभर्ड हललाई मध्यनजर गरेर शौचालय निर्माण गरेको वडा अध्यक्ष भानसिङ बुढाले बताए ।
वडा कार्यालय १० देखि ५ बजेसम्म मात्रै खुल्ने गर्छ कभर्ड हलमा खेल्न आउने खेलाडि र सार्वसाधारणको समस्यालाई मध्यनजर गरेर शौचालय निर्माण गरिएको हो उनले भने ।
शौचालय सञ्चालनमा भने आएको छैन शौचायलाई सञ्चालनमा ल्याउनको लागि तीन लाख बजेट आवश्यक रहेको छ । आगामी आर्थिक वर्षमा वडाबाट बजेट छुट्याएर शौचालय सञ्चालनमा ल्याउने उनले बताए ।
हाल १४ नम्बर वडामा तीनवटा सार्वजनिक शौचालय रहेको छ । दुईवटा बालमन्दिर र ट्राफिक चोकमा शौचालय सञ्चालनमा रहेको छ । यस्तै वडाले जेहेन्दार विद्यार्थीहरूका लागि कापी कलम वितरण कार्यक्रमको लागि बजेट छुट्याए पनि काम गर्न भने सकेको छैन ।
प्रदेश सरकारबाट २० प्रतिशत बजेट कटेर आएसँगै कार्यक्रम रोकेको वडा अधयक्ष बुढाले बताए । वडाले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनको लागि विद्यालयसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
बालबिकास स्कुलमा आठकोठे भवण निर्माण हुँदैछ भने बालमन्दिर स्कुलमा ५६ लाखको भवन निर्माण भैरहेको वडाले जनाएको छ । यसैगरी महिलाहरूलाई उद्यमशीलतासँग जोड्नका लागि वडाले विभिन्न समयमा तालिम सञ्चालन गदै आएको छ ।
चालु वर्षमा वडाभित्रका विपन्न तथा दलित महिलाका लागि सीपमूलक तालिम पनि दिएको छ । दिदीबहिनी स्वीटर उद्योग तथा प्रशिक्षण केन्द्रको आयोजना तथा वडा नं। १४ को आर्थिक सहयोगमा तीन महिने सीपमूलक कटाई सिलाई तालिम सम्पन्न भएको छ ।
महिलालाई सीपसँग जोडेर आर्थिक आम्दानीको बाटोमा जोड्नका लागि तालिम दिइएको वडा अध्यक्ष भानसिंह बुढाले बतााए । महिलाहरू घरको चुलोचौकोमा मात्रै सीमित नभएर आर्थिक समृद्धिका प्राप्तिका लागि सीपसँग जोडिनु आजको आवश्यकता भएको उनले बताए ।
७१ जना महिलाहरूको आवेदन दिएपनि तालिममा ४२ जना मात्रै सहभागी भएको बताए । ४२ जनालाई तीन महिना कटाई सिलाई तालिम वडाले दिएको हो । अब बचेको तीन महिना फेरी पनि आगामी आर्थिक वर्षमा निरन्तरता दिने भएको छ । वडाले सिलाई कटाई तालिमको लागि तीन लाख बजेट छुट्याएको थियो ।
यसैगरी विद्यालयमा लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन गरिएको छ । लागूऔषध दुव्र्यसनमुक्त समाज निर्माणका लागि सरकारका तर्फबाट गर्न सकिने कामका लागि आफू सधै सकारात्मक रहेको वडा अध्यक्ष बुढाले बताए ।
लागूऔषधसम्बन्धी सचेनता कार्यक्रम स्कुल, टोल, प्रहरीसँग साझेदारी कार्यक्रम गरेको छ । वडाले लागूऔषधविरूद्धको कार्यक्रमको लागि ६० हजार रूपैयाँ छुट्याएको कार्यक्रम सम्पन भएको छ । यस्तै वडाले बालबालिकालाई अब्बल बनाउनको लागि विभिन्न कार्यक्रम पनि गर्दै आएको छ । बाल क्लव तथा पूर्णसरसफाई सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जसको लागि वडाले एक लाख बजेट छुट्याएको थियो ।
१४ नम्बर वडामा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङलाई वडा कार्यालयले कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री सहयोग गरेको छ । वडाको चालु आर्थिक वर्षको ५० हजार रूपैयाँ बजेटमार्फत् केन्द्रलाई एक थान कुर्सी, टेबुल, एक थान कार्पेट र पर्दाहरू सहयोग गरेको होे ।
यस्तै वडाले बालमन्दिर आधारभूत विद्यालयमा आर्थिक अनुदानमार्फत ५० हजार, गुराँस पशुपंक्षी केन्द्रलाई आर्थिक सहयोगमार्फत् ६० हजार, नेपाल अपाङ्ग संघको कार्यालय सञ्चालनको लागि ५० हजार, नेपाल रेडक्रस सोसाइटीलाई ५० हजार, सहनशील दिदीबहिनी अल्लो उद्योगलाई ३० हजार, कृषकहरूका लागि बीउ अनुदान सहयोग ६० हजार, जिल्ला प्रहरी कार्यालयमा पानी फिल्टर ३० हजार सहयोग गरेको छ ।
त्यस्तै वडा कार्यालयमा पानी फिल्टर ३० हजार, मेयर कप खेल सञ्चालन कार्यक्रमका लागि एक लाख ५० हजार, वैजाली युवा क्लवको खेल सामग्री खरिदका लागि ७५ हजार, युनिक युवा क्लव खेल सामग्री खरिदका लागि ५० हजार सहयोग गरेको छ । वडाले आगामी दिनमा लागूऔषध, सरसफाई, स्वास्थ्य, दलित तथा जेहेन्दार विद्याार्थीहरूको लागि कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
यो समाचार आजको प्रदेश टुडे राट्रिय दैनिकमा सरीता चौधरीले लेख्नु भएको छ ।
