४५ प्रतिशत शिशुले आमाको दूध खान पाउँदैनन्
दाङ, १६ साउन ।
नेपालमा आफ्ना बच्चालाई स्तनपान गराउने आमाहरूको संख्या घटिरहेको छ ।
शिशुलाई दूध खुवाउने आमाको संख्या पछिल्लो पाँच वर्षमा ११ प्रतिशतले घटेको स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणले देखाएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार पाँच वर्षअघि ६६ प्रतिशत रहेको स्तनपानको दर अहिले घटेर ५५ प्रतिशत भएको छ ।
महाशाखाका निर्देशक डा. विवेक लालले पछिल्लो समयमा आमाहरूले आफ्ना शिशुलाई दूधको सट्टामा अरू कुरा खुवाउने गरेको पाइएको बताए ।
सर्वेक्षणअनुसार पछिल्लो पाँच वर्षमा बच्चाहरूलाई दूधको सट्टा अरू वस्तु खुवाउने दर १२ बाट २२ प्रतिशत पुगेको छ ।
जुन बालबालिकाका लागि चिन्ताको विषय भएको डाक्टरहरूले बताएका छन् । पर्याप्त स्तनपान गराउन नपाउनेमा कामकाजी महिला धेरै छन् ।
कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था नगरिँदा यो समस्या देखिएको निर्देशक डा. लालले बताए । डाक्टरहरूका अनुसार ६ महिनासम्मको बच्चालाई आमाको दूध मात्रै खुवाउनुपर्छ ।
तर सरकारले नै महिलालाई ९८ दिन मात्रै सुत्केरी बिदा दिने गरेको छ ।
यसपछि नियमित स्तनपान गराउन नसक्ने अवस्था रहेको आमाहरूको गुनासो छ ।
सरकारले सन् २०३० सम्ममा नियमित स्तनपान गराउने आमाको प्रतिशत ९० पु¥याउने लक्ष्य लिएपनि पछिल्लो अध्ययनले त्यो सम्भव नहुने देखाएको निर्देशक डा. लालले बताए ।यो समाचार आजको प्रदेश टुडे राष्ट्रियले दैनिक छापेको छ ।
