महिलाको हत्या गरी फरार आरोपी मृत फेला
सल्यान, २६ साउन । सल्यानमा एक स्थानीय महिलाको हत्या गरी फरार रहेको भनिएका आरोपी मृत फेला परेका छन् ।
चार दिनअघि शारदा नगरपालिका–१४ माल्नेटामा ४७ वर्षीया प्रमिला गिरीको घाँटी रेटी हत्या गरेको आरोप लागेका वडा नं. १४ ढारखानीका ५४ वर्षिय वीरबहादुर गिरी मृत फेला परेको प्रहरीले जनाएको छ ।
हत्या आरोपित मृतक गिरी आफ्नै घर नजिकै तुसारेस्थित मानिस नबस्ने एक घरमा झुन्डिएको अवस्थामा बिहीबार बिहान ६ बजेको समयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
आफ्नै घर नजिकै बारीमा घाँस काट्न गएकी प्रमिलाको घाँटी रेटिएको अवस्थामा मृत फेला परेको दिनमै आफन्तले किटानी जाहेरी दिएपछि वीरबहादुर गिरी साउन २१ गते बेलुकीदेखि फरार रहेका थिए ।
फरार रहेका वीरबहादुर गिरीलाई प्रहरीले खोजतलास गर्दा पनि फेला पार्न सकेको थिएन । हत्या गरिएकी प्रमिला र हत्या आरोपित वीरबहादुर नाताले जेठाजु बुहारी हुन् । यो समाचार प्रदेश टुडे दैनिकमा छ ।
