२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

घोराहीमा पाइपबाट ग्याँस

दाङ, ।
घोराही–१६ की लक्ष्मी चौधरीलाई खाना पकाउने ग्याँस सकिएला भन्ने चिन्ता छैन् । किनकी उनले घर छेउमै फोहोरबाट उत्पादन भएको ग्याँसबाट खाना पकाउने गरेकी छन् ।

उनको ग्याँस चुलोसम्म सिधै पाइपबाट ग्याँस आएको छ । ‘ग्याँस पाइपबाटै आएको छ’ उनले भनिन्–‘यसअघि सिलिण्डरबाट चलाउने गरेका थियौँ, अहिले सिधै पाइपबाट आएको छ ।’

न्यून आय भएका र दाउरा गुइँठा प्रयोग गर्दै खाना पकाउने स्थानीयहरू अहिले पाइप लाइनबाट ग्याँस चुलो प्रयोग गर्न पाउँदा हर्षित भएको अर्का स्थानीय जगतराम चौधरीले बताए । ‘खाना पकाउनका लागि दाउरा र गुइँठा प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ’ उनले भने–‘पाइपबाटै ग्याँस प्रयोग गर्न पाएपछि खुसी छौँ ।’ लक्ष्मी र जगतरामजस्तै घोराही–१६ मा फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने चार सय घरधुरीलाई चुलो बाँडिसकिएको छ ।

घोराही उपमहानगर–पालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर–घरमा वितरण गर्न सुरू गरिएको हो । उपमहा–नगरपालिकाबाट संकलित फोहोरलाई प्रयोग गर्दै फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादनको लक्ष्य राखेर वैकल्पिक उर्जा र नेपाल उर्जा विकास कम्पनीको संयुक्त लगानीमा ग्याँस उत्पादन गर्न थालिएको हो ।

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र नेपाल उर्जा विकास कम्पनी प्रालिको सह–लगानीमा तयार भएको ग्याँस उत्पादन परियोजनाबाट लक्ष्मीजस्तै ३५ घरधुरीले अहिले बायो ग्याँसबाट खाना पकाउन सुरू गरेका छन् । फोहोरबाट उत्पादित ग्याँस पाइप लाइनबाट घोराही उपमहानगर–पालिकाको १० र १६ नम्बर वडाका एक हजार पाँच सय घरमा पु¥याइने परियोजनाको दीर्घकालिन लक्ष्य छ ।

चार सय घरधुरीलाई ग्याँस चुलो वितरण गरिसकिएको छ भने पहिलो चरण ७ सय ५० घरधुरीलाई ग्याँस पु¥याउने गरी काम भैरहेको उर्जा विकास कम्पनी कार्यक्रम सहायक पदम पोख्रेलले बताए । ‘१ हजार ५ सय घरमा ग्याँसको पाइप पु¥याउने लक्ष्य छ’ उनले भने–‘अहिले सुरूमा साढे सात सय घरधुरीलाई ग्याँस पु¥याउने काम भइरहेको छ ।’

उपभोक्ताहरूले ग्याँस उपभोगका गर्न १२ हजार ५ सय तिर्नुपर्नेमा ५ हजार युएनडिपीले साढे ५ हजार अनुदान दिएको छ । सुरूमा ७ हजार तिरेपछि उपभोक्ताहरूले ग्याँस प्रयोग गरेको आधारमा थोरै शुल्क तिर्नुपर्ने र उक्त शुल्क अहिलेको खर्चभन्दा आधा हुने छ तर अहिले ग्याँसको मापन गर्ने मिटर बक्स नआएकाले अहिलेसम्म जडान भएका ३५ घरधुरीले निःशुल्क रूपमा ग्याँस उपभोग गर्दै आएका छन् ।

ग्याँस प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्याँस उत्पादन हुन्छ भने दैनिक तीन सय क्विन्टल फोहोर आवश्यक पर्दछ । फोहोरबाट ग्याँस उत्पादन सुरू भएपछि उपमहानगरलाई फोहोर व्यवस्थापनमा पनि सजिलो भएको घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरीले बताए ।

‘बजारको फोहोर व्यवस्थापन मुख्य चुनौतीको रूपमा छ, तर ग्याँस उत्पादन गर्न थालेपछि व्यवस्थापनमा केही सहज भएको छ’ उनले भने– ‘बजारको फोहोर शून्य बनाउने रणनीति अनुसार गल्ने र नगल्ने फोहोर वर्गीकरण गरी गल्ने फोहोर मात्र नगरबासीबाट किन्ने अनि ग्याँस कम्पनीलाई बिक्री गर्ने योजना रहेको छ ।’

२० करोड लगानी लाग्ने अनुमान गरेर २०७५ मंसिर ५ गते सम्झौता भएको परियोजनाको लगानी २२ करोड पुगेको छ । उपमहानगरको फोहोर व्यवस्थापनमा सहजता, ग्याँस उत्पादन र कम्पोष्ट मलसमेत उत्पादन गर्ने गरी उपमहानगरले संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।

सुरूमा २० वर्षको सम्झौता भएको र २० वर्षपछि संरचनासहित सबै पूर्वाधार उपमहानगरलाई हस्तान्तरण गरिने छ । सम्झौता अनुसार परियोजना हस्तान्तरण अघिको २० वर्षसम्मका लागि कम्पनीले मुनाफाको पाँच प्रतिशत रकम उपमहानगरलाई दिने सहमति छ । यो समाचार प्रदेश टुडेमा जीतसागर जी.एम. ले लेखेका छन् ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस