सरकारी योजनाको अभियान, जलाधार व्यवस्थापन र रोजगारी सँगसँगै
दाङ, ३१ असार ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले हरेक वर्ष जलाधार क्षेत्रको व्यवस्थापनको काम गर्दै आएको छ ।
नदी तटीय क्षेत्रमा जमिनहरूको संरक्षण, खोला नियन्त्रणसँगै सिमसार क्षेत्रको संरक्षण एवं पोखरी निर्माणको कामसमेत गर्दै आएको छ ।
दाङका विभिन्न क्षेत्रहरूमा यस कार्यालयले जलाधार क्षेत्रको व्यवस्थापनको काम गरिरहेको छ ।
पछिल्लो समय भू तथा जलाधार व्यवस्था कार्यालयले रोजगारी सिर्जना गर्ने गरी विभिन्न क्षेत्रमा जलाधार व्यवस्थापनको काम गर्दै आएको छ ।
सिमसार क्षेत्रको व्यवस्थापन एवं संरक्षण, पोखरी निर्माण, खोला कटान तथा खोला संरक्षण गर्नुका साथै स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गरी गर्ने योजनाहरूको काम अगाडि बढाइएको भू तथा जलाधार व्यवस्थापन कार्यालय दाङले जनाएको छ ।
जलाधार व्यवस्थापनको क्षेत्रमा सम्पन्न आयोजनाको अनुगमनका अवसरमा जलाधार व्यवस्थापन कार्यालयले यस्तो बताएको हो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०७९र८० मा सम्पन्न योजनाहरूको बारेमा जानकारी गराएको थियो ।
चालु आर्थिक वर्षमा जलाधार व्यवस्थापनसम्बन्धी कार्यक्रम अन्तर्गत सिमसार व्यवस्थापन सम्बन्धी संरक्षण पोखरी निर्माण र खोला कटान तथा खोला नियन्त्रणको काम भएको छ ।
सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवाला पक्षको संयुक्त टोलीले लमही नगरपालिका–९ देउपुर, गढवा गाउँपालिका–५ बाकीको खानेपानी तथा गाउँ संरक्षण र गढवा गाउँपालिका–४ मगरौटा, गढवा गाउँपालिका–३ को सिमसार व्यवस्थापनको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले लमही नगरपालिका वडा नम्वर ६ देउपुरको सिमसार तथा संरक्षण पोखरी निर्माणबाट पाँच सय घरधुरी लाभान्वित हुने जानकारी गराए ।
१६ लाखको लागतमा बनेको उक्त संरचनाबाट पानी रिचार्ज हुने, पर्यापर्यटनको विकास हुने र पाँचसय घरधुरीलाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको उनले बताए ।
यसैगरी गढवा गाँउपालिका वडा नम्वर ५, बाँकी देउखुरीमा नदी तथा खोला किनारा व्यवस्थापन गरिएको छ । ३८ लाख ९३ हजार १ सय २७ रूपैयाँको लागतमा सम्पन्न योजनाबाट चार सय घरधुरी लाभान्वित हुने चौधरीले बताएका छन् ।
उक्त आयोजनाबाट पाँच सय बिघा जग्गा संरक्षण हुने उनको भनाइ छ । यस्तै एक हजार तीन सय ४७ घरधुरीको रोजगारी सिर्जना हुने, खोला कटान नियन्त्रण हुने र डुबानबाट घर जग्गा संरक्षण हुन उनले जानकारी दिए ।
चौधरीका अनुसार नदी तथा खोला किनारा संरक्षण आयोजना गढवा गाउँपालिका वडा नम्वर ४ मगरौटामा सम्पन्न भएको छ । १७ लाख ८८ हजार २ सय ५४ रूपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट २ सय ९२ घरधुरी लाभान्वित हुने छन् ।
यो योजनाले सडक पाखो संरक्षण, १० बिघा क्षेत्र संरक्षित, खेती योग्य जमिन कटान, डुबानबाट संरक्षण र २ हजार २१ घरधुरीले रोजगार प्राप्त गर्ने छन् ।
उक्त कार्यालयले आर्थिक वर्ष २०७९र८० तेस्रो चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनमा २८ वटा विभिन्न योजना ६ करोड ८५ लाख ७६ हजार ७ सय ३६ रूपैयाँ बराबरमा सम्पन्न गरेको जनाएको छ ।
यसैबीच, भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरले लमहीमा आर्थिक वर्ष २०७९र८० मा सम्पन्न गरिएका योजनाका विषयमा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको अध्यक्षता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त अवसरमा प्रदेशसभा सदस्य अनुराग खड्का दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, सामुदायिक वन महासंघ दाङका अध्यक्ष हरि भुसाल, पत्रकार केपी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका नायव सुब्बा निमकान्त आचार्यले गरेका थिए ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसी, प्रदेशसभा सदस्य अनुराग खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, समन्वय अधिकारी, प्रदेशका विभिन्न मन्त्रालयका प्रतिनिधिलगायतको समन्वयकारी अनुगमन गर्नुका साथै वर पिपल प्रजातिको वृक्षारोपनसमेत गरेका थिए । यो समाचार आजको प्रदेश टुडे राष्ट्रिय दैनिकले छापेको छ ।
