पार्किङमा राखिएको बसभित्र ७३ बर्षीया महिलामाथि सामूहिक बलात्कार
दाङ,५ साउन । दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ बर्षीया महिलामाथि सामूहिक बलात्कार भएको छ ।
बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ति महिलामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
बस भित्र सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३० बर्षीय पुष्कर रोका र सल्यान जिल्लाको कुमाख गाउँपालिका – ७ का २० बर्षीय रेशम बिकलाई प्रहरीले बृद्ध महिलामाथि बलात्कार गरि रहेकै अवस्थामा तुलसीपुर बसपार्कबाट नियन्त्रणमा लिएको हो ।
उपचारकालागि भन्दै प्यूठान स्वर्गद्धारी नगरपालिकाबाट आएकी ति महिला राति बसपार्क पुगेकी थिइन ।
सोही क्रममा सहयोग गर्ने बाहाना बनाएर दुईजनाले बसपार्क भित्र पार्किङ गरि राखेको ना ४ ख ७८४८ नम्बरको बस भित्र पुर्याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
उपरीक्षक मल्लले महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र त्यसपछि प्रहरी घटनास्थल पुगेको जानकारी दिए।
मध्यराति भएको हुँदा घटनाबारे थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।