महिला तथा बालिकामाथि हुने अपराध न्यूनीकरणमा चासो
तुलसीपुर, ९ साउन । महिला तथा बालबालिकामाथि हुने अपराध अन्त्यका लागि सबैको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् ।
समाजमा पछिल्लो समय महिला तथा बालबालिका हुने अपराधका घटना बढ्दै गएको भन्दै सरोकारवालाले अपराध न्यूनीकरणमा चासो देखाएका हुन् ।
तुलसीपुर उपमहागरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको महिला तथा बालबालिका सुरक्षा विषयक अन्तरक्रियामा सरोकारवालाले तुलसीपुरमा पछिल्लो समय भएको ११ वर्षीया बालिकादेखि ७३ वर्षीया आमाको बलात्कारमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
पछिल्लो समय तुलसीपुरमा भएको अपराधको घटनालाई तुलसीपुरलाई लज्जित बनाएको भन्दै आगामी दिनमा फेरि यस्ता किसिमका घटना हुन नदिन सबै चनाखो बन्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले कानुनी सचेतना गाउँ–गाउँमा फैलाउनुपर्ने बताए ।
‘सचेतनाको अभावका कारण पनि अपराधका घटना हुने गरेका छन् ।’ उनले भने– ‘सचेतनामूलक कार्यक्रम बजारसँगै गाउँमा पनि केन्द्रित गर्नुपर्छ ।’
उनले धेरै महिला चेतनाको अभावले हिंसामा परेपनि मुद्दा दर्ता गर्न नआउने बताए । ‘चेतनाको अभाव छ’ उनले भने–‘गाउँका महिलाहरू हिंसामा परे पनि मुद्दा दर्ता गर्न चाहँदैनन् ।’
ईलाका प्रहरी कार्यालयबाट एक वर्षमा करिब ६० वटा मुद्दा दर्ता भएको उनले बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ का सदस्य तथा न्यायिक समिति सदस्य लालमती भण्डारीले लागूऔषधको बढ्दो प्रयोगले पनि अपराधका घटना बढाएको बताइन् ।
‘प्रहरीलाई लागूऔषध प्रयोग गरिरहेको अवस्थामा खबर गर्दा पनि पक्राउ गरिदैन्’ उनले भनिन्– ‘लागूऔषध प्रयोगकर्तालाई प्रहरी भित्रबाटै सूचना प्रवाह गरेर भगाउने काम भएकोले बसपार्क क्षेत्रमा बलात्कार तथा अन्य हिंसाजन्य घटना हुने गरेको छ ।’
महिला अधिकारकर्मी शुष्मा गिरीले राज्यले मानवीय विकासलाई कम प्राथमिकता दिएको बताइन् । ‘दाङका दशवटै पालिकामा बजेटलाई अध्ययन गर्दा स्थानीय सरकारले पनि भौतिक विकासलाई मात्रै प्राथमिकता दिएको देखिएको छ’ उनले भनिन्–‘मानवीय विकासमा जवसम्म लगानी हुन सक्दैन, तबसम्म अपराधमुक्त समाजको परिकल्पना गर्न सकिदैन् ।’
तुलसीपुरमा केही दिनअघि भएका बलात्कारजन्य घटनालाई तुलसीपुरबासीलाई नै लज्जित बनाएको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने उनले बताइन् ।
‘११ वर्षीया बालिकादेखि ७३ वर्षीया आमा बलात्कृत भएकी छन्’ उनले भनिन्– ‘यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाही हुन्छ भन्नेमा विश्वस्त छु ।’
महिला अधिकारकर्मी युवा कराराले कानुनी ज्ञानको अभावले पनि धेरै हिंसाका घटना हुने गरेको बताइन् ।
‘कानुनमा भएका कुराको अभाव धेरैमा छ, यसकारण पनि अपराधका घटना कमी आउन सकेको छैन्’ उनले भनिन्– ‘पढ्न गएको छोरी सकुशल फर्किन्नन् कि नै भन्ने मुख्य चिन्ताको विषय बनेको छ ।’ उनले अपराध न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताइन् ।
मानव अधिकारकर्मी सुशील बस्नेतले समुदाय सचेत भएपनि अपराधका घटना धेरैमात्रामा कमी आउने बताए । ‘अपराध न्यूनीकरणमा समुदायको पनि महत्वपूर्ण भूमिका हुन्छ’ उनले भने– ‘प्रहरीले समयमै खबर पाएमा दोषी उम्कन सक्दैन् ।’
त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले समाजमा गलत प्रवृतिले कमाउने धन्दाकै कारण अपराध बढेको बताए । ‘गलत प्रवृतिले कमाउने धन्दा मौलाएको छ’ उनले भने– ‘यसले पनि अपराधका घटना मौलाएको छ ।’
उनले केही दिनअघि बसपार्क भित्रै भएको घटनाले आफूलाई दुखी बनाएको बताए । बसपार्कमा सुरक्षाका लागि लाइट र सिसी क्यामेरा बढाउनुपर्ने उनले बताए ।
‘लाइट र सिसी क्यामेरा भएपछि धेरै मात्रामा बसपार्कमा अपराध न्यूनीकरण हुन्छ’ उनले भने– ‘लाइटका लागि यातायात व्यवसायी पनि सहयोग गर्न तयार छन् ।’
तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले होटल व्यवसायमा हुने विकृति अन्त्यका लागि व्यवसायी सचेत रहेको बताए ।
‘होटल व्यवसायीमा धेरै विकृति छ भन्ने आरोप आउँछ’ उनले भने–‘मत भन्छु, यसबारेमा सचेत छौँ, हामी व्यवसायी ।’
तुलसीपुर उपमहानगर–पालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बाल अधिकारकर्मी नवराज लामिछाने, महिला हिंसा न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको थर्ड आइ नेपालका अध्यक्ष बसन्त गिरी, ओरेक दाङका पूजा चौधरीलगायतले समाजमा हुने अपराध न्यूनीकरणमा सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी हुन् । यो समाचार आजको प्रदेश टुडे राष्ट्रिय दैनिकले छापेको छ ।
