२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

खरेलले ल्याए आइडिया ब्याङ्किङ

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको चुनावको मिति नजिकीदै जाँदा अध्यक्षका उम्मेदवार डिला खरेलले नेपाली युवाहरुलाई उद्यमशील बन्नका लागि सहयोग गर्ने विशेष योजना पनि अघि सारेका छन् ।

उनले भने, ‘नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न ‘युवाका निम्ति एक कोष’ कार्यक्रम ल्याउनेछु।

‘आइडिया ब्याङ्किङ’ को अवधारणा अघि बढाउन मेरो नेतृत्वमा एनसीसी अस्ट्रेलियाले एक लाख अस्ट्रेलियन डलरको कोष सङ्कलन गर्नेछ।

वित्तीय तथा लगानी क्षेत्रका विशिष्टहरू सामेल भएको एक टोलीले छानिएका उद्यमीहरूका निम्ति कानुनी, लेखासम्बन्धी तथा अन्य आवश्यक परामर्श दिनेछ।

साथै ‘युवाका निम्ति एक कोष’ मार्फत प्रारम्भिक पूँजी सहयोग पनि उपलब्ध गराइनेछ ।’

प्यानल नै तयार पारेर चुनावी अभियानमा होमिएका युवा व्यवसायी खरेलले अस्ट्रेलियामा गर्ने ५ र नेपालमा गर्ने ४ वटा कामहरुलाई प्रमुखताकासाथ बुँदागतरुपमा प्रस्तुत गरेका छन् ।

उनले नेपालमा गर्ने काहरुमा नेपाल अस्ट्रेलिया सम्बन्ध सुदृढिकरणमा जोड दिएका छन् भने पर्यटन प्रवर्द्धनलाई फोकस गरेका छन् ।

यसैगरी सीप अभिवृद्धि र काठमाडौं उपत्यकामा अष्ट्रेलिया पार्क निर्माण गर्ने आफ्नो योजना रहेको घोषणा पत्रमा उल्लेख गरेका छन् ।

यस्तै, एनआरएनए अस्ट्रेलियाले अस्ट्रेलियामा गर्ने कामको सवालमा ५ वटा बुँदा रहेका छन् ।

उनले नेपाली विद्यार्थीका लागि, नेपाली युवाका लागि, जेष्ठ नागरिकहरुका लागि, नेपाली सेलिब्रिटीहरुको ब्रान्डिङको लागि र नेपाली नागरिकताको निरन्तरताको पहलमा जोड दिएका छन् ।

अध्यक्षका उम्मेदवार खरेलले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले ‘ह्यान्ड बुक’ प्रकाशन गर्ने पनि बताइसकेका छन्।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस