‘लिटल नेपाल नेबरहुड’ नामाकरण गर्न पहल गर्छु: उम्मेदवार खरेल
सिड्नी – एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार डिला खरेलले नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको क्षेत्रलाई ‘लिटल नेपाल नेबरहुड’ घोषणा गर्न पहल गर्ने बताउनुभएको छ ।
आफुहरुको टिम विजयी भएमा एनआरएनए अष्ट्रेलियाको बैठकबाट औपचारिक निर्णय गरी स्थानीय निकायसंग समन्वय गरेर ‘लिटल नेपाल नेबरहुड’ घोषणा गर्ने उहाँको भनाई छ ।
“हालै भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणको क्रममा सिड्नीको ह्यारिस पार्क क्षेत्रलाई ‘लिटल इन्डिया ‘नामाकरण गरिएको थियो ।
त्यस्तै नेपालीहरुको बाक्लो बसोबास रहेको रकड़ेल क्षेत्रलाई ‘लिटल नेपाल नेबरहुड’ घोषणा गर्न हामीले औपचारिक पहल गर्ने छौं,’ अध्यक्ष पदका उम्मेदवार खरेलले भन्नुभयो ।
त्यस ठाउँमा अहिले हरेक ८ जनामा १ जना नेपाली रहेको बताउँदै उनीहरुको पहिचान स्थापित गरेर नेपाल र नेपालीलाई जोड्न साथै नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धनमा मदत पुग्ने गरी काम गर्ने खरेलले बताउनुभयो ।
खरेलले आफुले जितेमा नेपाल स्थित अष्ट्रेलियन राजदूतावास तथा नेपालका स्थानीय निकायसंग समन्वय गरी काठमाडौँ उपत्यकाभित्र ‘अष्ट्रेलिया पार्क’ बनाउने योजना पनि अगाडि सार्नुभएको छ।