युवालाई उद्यमशिलतामा जोड्नु पर्छ : मुख्यमन्त्री चौधरी
रुपन्देही, ८ भदौ । प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि युवालाई उद्यमशिलतामा जोड्नु पर्ने बताउनु भएको छ ।
नेपाल जेसीजले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलनको उद्घाटन गर्दै उहाँले पलायन भईरहेको युवा जनशक्तिलाई रोक्न र देश विकासमा सहभागि गराउनको लागि देश भित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रदेश सरकारले दुई लाख युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ यसमा सहयोग गर्नुहोला ।’
युवा रोजगारीको लागि प्रदेश सरकार जेसीज सँग सहकार्य गरेर हिड्न चाहेको उहाँको भनाई थियो ।
देशको भविश्य युवाको काँधमा रहेको बताउँदै उहाँले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री चौधरीले जेसीजमा उद्यमशिल युवाहरु रहेको औंल्याउँदै रोजगारी सिर्जनामा जेसीजबाट पनि सरकारले केही आशा राखेको बताउनुभयो ।
तिलोत्तमा जेसीजको आतिथ्यतामा जेसीज क्षेत्र ‘घ’ सम्मेलन दुई दिन सम्म सञ्चालन हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी गराउनु भयो ।

उहाँका अनुसार सम्मेलनमा थिम सेमिनार, प्रकरण गोष्ठी, जनरल एसेम्बल, विजनेश ट्रेनिङ लगायतका कार्यक्रम हुनेछन् ।
सम्मेलनमा क्षेत्र ‘घ’ अन्तरगतका गैँडाकोट देखि पश्चिम महेन्द्रनगर सम्मका ५८ शाखाबाट करिव ५ सय सहभागि रहेको तिलोत्तमा जेसीजका महासचिव महेश पौडेलले जानकारी गराउनुभयो ।