२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

दाङमा खुकुरी प्रहारबाट एक जना महिलाको मृत्यु, दुई जना गम्भीर घाइते

दाङ,
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो साढे २ बजेतिर जिल्लाको तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी रिता लामिछाने रहेकी छिन् । आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै सोही ठाउँ बस्ने ४५ वर्षिय बिर बहादुर हमाल र अन्दाजी ६५ वर्षिय कमला कुमारी हमाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ ।

साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई निजकै घरभित्र लुकिछिपि बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ।

खुकुरी किन र के कारणले प्रहार गरेको भन्ने खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस