२०८३ भाद्र २८ गते आइतवार | 2026 September 13th Sunday

पत्रकार थापा माथि भएको प्रहरीको दुरव्यवहार प्रति प्रेस युनियनको आपत्ति

दाङ । नेपाल प्रेस युनियन दाङका सदस्य सुदन थापामाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाल प्रेस युनियन दाङले आपत्ति प्रकट गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष नारायण खड्का र सचिव अमर क्षितिज भण्डारीले विज्ञप्ती जारी गर्दै युनियनका जिल्ला सदस्य थापामाथि भएको प्रहरी दुर्व्यवहारप्रति आपत्ति प्रकट गरेका हुन् ।

थापा बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार संकलनका क्रममा त्यहाँ पुगेका थिए । बालकको निधन भएपछि त्यहाँ मृतकका परिवार तथा आफन्तले गरेको विरोध प्रदर्शनको भिडियो खिचिरहेका थापालाई प्रहरीले दुर्व्यवहार गरेको थियो ।

थापाले भिडियो खिच्दाखिच्दैको क्यामरा तथा मोबाईल खोसेको र उनलाई धक्का मुक्का भएको भिडियो समेत सार्वजनिक भएको छ।

साथै पत्रकार थापाको क्यामरामा समेत क्षेति पुगेको छ । जिम्मेवार निकायबाट एउटा पत्रकारलाई समाचार संकलनको क्रममा अवरोध उत्पन्न गर्दै दुर्व्यवहार गर्नुले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन् भएको युनियनले जनाएको छ ।

उक्त घटनाको भ्रत्र्सना गर्दै यसखालका गतिविधी नदोहोराउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, सम्वन्धित निकायप्रति माग गर्दै थापाको क्षतिभएको क्यामराको क्षतिपूर्तिको लागि समेत युनियनले माग गरेको छ । थापा जनआवाज अनलाईन टिभिमा कार्यरत छन् ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस