बससँगै पहिरोमा वेपत्ता तीन यात्रुको शव फेला
भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका – २९ सिमलतालबाट पहिरोले बगाएर त्रिशुलीमा खसेका दुई वटा वसका यात्रुहरुको शव भेटिन थालेका छन् ।
दुइदिन देखि खोजी जारी रहे पनि बस नभेटिएको तर बसका यात्रुका शवहरु त्रिशुली नदी किनारमा भेटिन थालेको प्रहरीले जनाएको छ ।
शनिवार भरतपुर–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिनुभयो ।
यसैवीच शनिवार साँझ अरु दुइ जना पुरुषको शव पनि भेटिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको हो ।
नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका – ७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको बताउनुभयो ।
ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।