सुत्केरी र सुत्केरी कुर्न आएकी बहिनीको निसास्सिएर मृत्यु
सुर्खेत, ८ श्रावन । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उहाँकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् ।
मायालक्ष्मी ११ दिनको सुत्केरी रहेको बताइएको छ । बच्चालाई सेक्नका लागि घरमा आगो बालिरहेको अवस्थामा सोही आगोको धुवाँले निसास्सिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदीलाल कामतीले जानकारी दिनुभयो ।
घाइते अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार दिदीको सोमबार र बहिनीको मंगलबार बिहान मृत्यु भएको हो ।
यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार