बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो
दाङ, १४ कात्तिक ।
नारायणपुर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो कार्यक्रम थालेको छ । संघले नारायणपुर क्षेत्रको बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो कार्यक्रम थालेको हो ।
नारायणपुर, सौरी कुला तथा खैरा क्षेत्रको बजार व्यवस्थापनका लागि भैलो कार्यक्रमको सञ्चालन गरेको संघले जनाएको छ ।
सडकका खाल्डाखुल्डी पुर्ने, सडक बत्ती व्यवस्थापन गर्ने, प्रतीक्षालय व्यवस्थापन गर्ने, फोहोर व्यवस्थापन तथा वाचनालय स्थापना लगायतका कार्यका लागि भैलो कार्यक्रम सञ्चालन गरिएको संघका अध्यक्ष अनिलकुमार बस्नेतले जानकारी दिएका छन् ।
बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागि भैलो कार्यक्रम सुरू गरेका हौँ । अझ विशेष गरेर पछिल्लो समयमा नेपाली मौलिक संस्कृति हराउँदै जान थालेको छ । पछिल्लो पुस्ताहरू पाश्चात्य संस्कृतिमा रमाइरहेका छन् ।
यस्तो परिस्थितिमा नेपाली मौलिक संस्कृतिको जगेर्ना र संरक्षणमा टेवा पुर्याउनका लागि पनि भैलो कार्यक्रम आयोजना गरेका हौँ ।
बस्नेतले थपे, ञपाश्चात्य संस्कृतिले नेपाली संस्कृतिलाई गाँजेको बेला नेपाली संस्कृतिको मूल्य मान्यताको महत्त्व बुझाउन प्रयासस्वरूप पनि संघले भैलो कार्यक्रम आयोजना गरेको हो ।
भैलो कार्यक्रममा नेपाली संस्कृति झल्कने गीत, संगीत तथा सिङ्गारू, पुरसुङ्गे, सोरठी, ख्याली टप्पा लगायतका नाच प्रस्तुत गरिएका छन् ।
