निर्वाचन आयोगद्धारा उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक
काठमाडौं, २४ पुस ।
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारविरुद्ध उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ।
आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। निर्वाचन आयोगले तोकिएको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको छ ।