२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

दाङसहित पश्चिम नेपालमा वर्षा

दाङ, १४ माघ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण गएरातिदेखि दाङ उपत्यकासहित पश्चिम नेपालका विभिन्न जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। लामो समयको खडेरीपछि परेको वर्षाले चिसो बढाए पनि कृषकहरूमा भने उत्साह थपिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा बदली भई वर्षा भएको हो। दाङको घोराही, तुलसीपुर र देउखुरी क्षेत्रमा निरन्तर वर्षा भएपछि धुलोमैलो कम भएको छ भने वातावरण केही स्वच्छ बनेको छ।

वर्षासँगै रोल्पा, रुकुम, जुम्ला, हुम्ला र मुगु लगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण ती क्षेत्रमा चिसो अत्यधिक बढेको छ भने केही स्थानमा यातायातसमेत प्रभावित भएको जानकारी प्राप्त भएको छ।

तर, हिउँले जमिनमा लामो समयसम्म चिस्यान कायम राख्ने भएकाले किसानहरू खुसी देखिएका छन्। यो वर्षा हिउँदे बालीका लागि निकै लाभदायक हुने अनुमान गरिएको छ।

सिँचाइको सुविधा नपुगेका क्षेत्रमा सुक्न लागेका गहुँ, जौ, तोरी र दलहन बालीलाई वर्षाले राहत दिएको छ। लामो समयदेखि पानीको प्रतीक्षामा रहेका किसानहरू अहिलेको वर्षाले खेतीपाती सप्रिने आश पलाएको बताउँछन्।

मौसमविद्हरूका अनुसार यो मौसमी प्रणाली आज बेलुकासम्म कायम रहने सम्भावना छ। वर्षा र हिमपातका कारण तापक्रम घट्ने भएकाले स्वास्थ्यप्रति सतर्क रहन तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र अघि बढ्न स्थानीय प्रशासनले सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस