भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
रुकुमपूर्व ,१४ माघ ।
रुकुमपूर्वको भूमे गाउँपालिका–१ र बाग्लुङको सिमाना पर्ने यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपात भइरहेकाले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख एवम् डीएसपी उमाशङ्करप्रसाद यादवका अनुसार रुकुमपूर्व–बाग्लुङ सिमाना क्षेत्रमा बाक्लो हिमपातका कारण सवारीसाधन आवतजावत ठप्प भएको हो।
उनका अनुसार काठमाडौँबाट आएका सवारीसाधन पातिहाल्ने आसपासमै रोकिएका छन् भने रुकुमपूर्व हुँदै काठमाडौँ जान लागेका सवारीसाधन रुकुमकोट, काँक्री र लुकुम क्षेत्रमा रोकिएका छन्।
हिउँ पन्छाउन नेपाल प्रहरी परिचालन गरिएको पनि डीएसपी यादवले जानकारी दिए। भूमे गाउँपालिकाले जेसीबी प्रयोग गरी हिउँ पन्छाउने प्रयास गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष सविना बुढामगरले बताइन्।
उनका अनुसार २ देखि ३ फिटसम्म हिउँ जमेको र निरन्तर भारी हिमपात भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। उनले भनिन्, “जेसीबीले हिउँ पन्छाए पनि केही समयमै फेरि हिउँ जमिरहेको छ। यही अवस्थामै हिमपात जारी रहे सडक खुलाउन सम्भव नहुन सक्छ।”
यसैबीच, जिल्लाका उच्च भेगमा अहिले पनि निरन्तर हिमपात भइरहेको छ भने तल्लो भेगमा वर्षा जारी रहेको छ। यस वर्षको दोस्रो पटक परेको हिमपातले माथिल्लो क्षेत्रमा बाक्लो हिउँ जमेको छ।
तीनवटा गाउँपालिका रहेका रुकुमपूर्वका तीनै गाउँपालिकाका उच्च भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ। पानी र हिमपातसँगै किसानहरू खुसी देखिएका छन्।
माथिल्लो भेगमा हिमपात र तल्लो भेगमा वर्षा भइरहेकाले यस वर्ष हिउँदे बाली राम्रो सप्रिने पुथाउत्तरगङ्गा गाउँपालिका–१३ का स्थानीय किसान दिपेन्द्र छन्त्यालले बताएका छन्।
आकासे पानीकै भरमा खेती गर्दै आएका किसानका लागि यसपटक हिउँदे बालीमा पर्याप्त सिँचाइ मिलेको उनको भनाइ छ। हिउँदमा हिउँ र पानी नपरेका वर्ष अनिकाल लाग्ने गरेको उल्लेख गर्दै यस वर्ष भने समयमै हिउँ र पानी परेकाले सुविकाल हुने आश व्यक्त गरेका छन्।