२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

दाङमा मतदान स्थलः १६ अतिसंवेदनशील, १३४ संवेदनशील

दाङ,१४ माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन दाङ जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ।

निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका मतदानस्थलको सुरक्षा विश्लेषण गरी अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरिएको छ। वर्गीकरणका आधारमा मतदानस्थलमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।

उनका अनुसार निर्वाचनलाई लक्षित गरी ‘एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ। प्रजिअ अर्यालका अनुसार मतदानपूर्व, मतदानको दिन र मतदानपछिको सुरक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा काम भइरहेको छ।

विगतका घटनाको समीक्षा, भौगोलिक विकटता, मतदाता सङ्ख्या, जेनजी आन्दोलनपछिको अवस्था लगायतका पक्षलाई ध्यानमा राखी सुरक्षा रणनीति तयार गरिएको उनले बताए।

दाङ जिल्लामा कूल १५९ मतदानस्थल र ४८२ मतदान केन्द्र रहेका छन्। तीमध्ये १३४ मतदानस्थल संवेदनशील, १६ अतिसंवेदनशील र नौ वटा सामान्य रहेका छन्। सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ अर्यालले जनाए।

प्रकाशित मिति : २०८२ माघ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस