२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

संयुक्त राष्ट्र संघलाई कडा कदम चाल्न इरानको पत्र

तेहरान ।

एजेन्सी

इरानका विदेशमन्त्री अब्बास अराघचीले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याप्रति कडा आपत्ति जनाउँदै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्लाई पत्र पठाएका छन्।

अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणमा खामेनी मारिएपछि इरानले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन र कायरतापूर्ण आतंकवादी कार्यको रूपमा परिभाषित गरेको हो।

राष्ट्र संघलाई सम्बोधन गरिएको पत्रमा विदेशमन्त्री अराघचीले यो घटना एक खतरनाक र अभूतपूर्व उत्तेजना भएको उल्लेख गरेका छन्। उनले यस प्रकारको कार्यले सभ्य राष्ट्रहरूबिचको आचरण र राज्यको मौलिक मान्यताहरूमाथि प्रहार गरेको दाबी गरेका छन्।

अराघचीले भनेका छन्, ‘यस्तो व्यवहारले स्थापित अन्तर्राष्ट्रिय सिद्धान्तहरूलाई मात्र तोड्दैन, यसले सार्वभौम समानता र विश्वव्यापी प्रणालीको स्थिरतालाई समाप्त पार्दै पान्डोराज बक्स खोलिदिएको छ।’

इरानले संयुक्त राष्ट्र संघको बडापत्रले सुम्पेको जिम्मेवारी वहन गर्दै विश्व शान्ति र सुरक्षा कायम राख्न महासचिव र सुरक्षा परिषद्लाई आग्रह गरेको छ।

पत्रमार्फत इरानले यो जघन्य आतंकवादी कार्यका लागि अमेरिका र इजरायली शासनलाई पूर्ण रूपमा जवाफदेही बनाउन तत्काल, ठोस र प्रभावकारी कदम चाल्न माग गरेको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस