२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

थारुहरूको रैथाने खाना प्रवर्द्धन- व्यावसायिकता र स्वच्छतामा जोड

दाङको चखौरामा रैथाने खाना प्रवर्द्धन तालिम सुरु भएको छ। तीन दिनसम्म चल्ने यो तालिम सोमबार दंगीशरण ३ चखौरास्थित थारु सांस्कृतिक संरक्षण केन्द्रमा सुरु भएको हो।

यो तालिममा दाङका विशेषगरी थारु समुदायका महिलाहरूको सहभागिता छ। पछिल्लो समयमा आदिवासी थारुहरूको रैथाने खानेकुरा तथा परिकारहरू मासिदैं जान थालेपछि त्यसको संरक्षण तथा प्रवर्द्धनका लागि केन्द्रले उक्त तालिम आयोजना गरेको हो।

यो तालिममा करिब ३५ जना थारु समुदायका महिलाहरू सहभागी छन्।
यो तालिम अवधिभरि सहभागीहरूले थारुहरूको परम्परागत खाना, विभिन्न खाले परिकार, संस्कार तथा चाडपर्व विशेषमा पकाइने लगायतका परिकारहरू बनाउने तरिका सिक्नेछन्।

त्यस्तै खानालाई कसरी स्वस्थ राख्ने, त्यसको प्रवर्द्धन कसरी गर्ने? भन्ने विषयमा पनि प्राविधिक तथा सैद्धान्तिक पद्धतिहरू पनि सहभागीलाई सिकाइनेछ।

पछिल्लो समयमा पश्चिम नेपालमा बढ्दे गइरहेको थारु परिकार तथा परम्परागत खानाको मागसँगै अहिले विभिन्न जिल्लाहरूमा थारु होमस्टे एंव थारु परिकार पाइने होटेलहरू खुल्न थालेका छन्। तर एकदमै रैथाने तथा परम्परागत तरिकाबाट भने परिकारहरू बन्दैनन्।

यस्तो अवस्थामा व्यावसायिक क्षेत्रमा समेत थारुहरूको परम्परा र संस्कृती झल्किने खालका परिकारहरू प्रवर्द्धन गर्नका लागि तालिमको आयोजना गरिएको थारु सांस्कृतिक केन्द्रकी उपाध्यक्ष शान्ता चौधरीले बताइन्।

यो तालिमका लागि पर्यटन डिभिजन कार्यालय कोहलपुरले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ।

तालिमको पहिलो दिनमा डिभिजन कार्यालयका अधिकृत कृष्ण बिष्टले रैथाने खाना तथा परम्परागत परिकारबाट पनि पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसको व्यावसायिक र बजारीकरण गर्दै जाँदा त्यसबाट दीगो आर्थिक उपार्जन पनि गर्न सकिनेमा जोड दिएका थिए।

त्यस्तै तालिमको सुरुवातमा खाद्य अनुसन्धान अधिकृत पदम बरालले रैथाने खानाको स्वच्छता, त्यसको स्वास्थ र प्याकेजिङका बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए।

यो अवघिमा सहभागीहरूले पश्चिम नेपालका दाङ, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत जिल्लामा बसोबास गर्दै आएका थारु समुदायका विभिन्न पारम्परिक तथा रैथाने खानाहरू बनाउन, त्यसको स्वच्छता र दीगोपनाबारे जानकारी हासिल गर्नेछन्। त्यसका लागि विभिन्न समुदायका रैथाने खाना बनाउने प्रशिक्षकहरूसमेतको सहभागिता रहेको छ।

बुधबार हुने समापनका अवसरमा थारु सांस्कृतिक केन्द्रद्वारा सञ्चालित थारु सांस्कृतिक संग्रहालय परिसरमै सहभागीहरूले बनाएका परिकारहरू प्रदर्शनी तथा त्यसको परीक्षणसमेत हुनेछ।

त्यस अवसरमा जिल्लास्थिति उच्च अधिकारी तथा अन्य व्यक्तिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस