पुल छेउमा ‘स्विमिङ पुल’ !
दाङ, ५ साउन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ कार्यालयदेखि करिब ५०० मिटरको दूरीमा रहेको बबई नदी पुल पुग्ने सडक र पहुँच मार्ग जीर्ण बन्दा सर्वसाधारण तथा सवारी चालकहरूले ठूलो सास्ती खेप्नुपरेको छ। वर्षाको समयमा सडकका खाल्डाखुल्टीमा पानी जमेर स्विमिङ पुलजस्तै देखिन थालेपछि आवतजावतमा जोखिम बढेको हो।

वडा कार्यालयको नजिकै रहेको उक्त पुल भएर दैनिक सयौँ मानिसहरू ओहोरदोहोर गर्ने यो महत्वपूर्ण क्षेत्रको अवस्था दिनानुदिन बिग्रिँदै जाँदा पनि स्थानीय जनप्रतिनिधिहरूले चासो देखाएका छैनन्। ठूला-ठूला खाल्डाखुल्टी र हिलोका कारण जुनसुकै बेला दुर्घटना हुन सक्ने र पुल नै जोखिममा रहेको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित शंकर खड्का वडा अध्यक्ष रहेको यस वडाले आफ्नै कार्यालयको आँखाअगाडि रहेको यति गम्भीर समस्यातर्फ कुनै ध्यान दिएको छैन। बारम्बार ध्यानाकर्षण गराउँदा पनि सडक मर्मत र खाल्डाखुल्टी पुर्न वडाले कुनै तत्परता नदेखाएको स्थानीयको गुनासो छ।
वर्षातको समयमा हिलो र पानीले सडक ढाकिँदा पैदलयात्री, मोटरसाइकल तथा साना सवारी साधनलाई बाटो काट्न निकै कठिनाई पर्ने गरेको छ। वडा तथा सम्बन्धित निकायले समयमै मर्मतसम्भार नगरे यसले अझ ठूलो रूप लिने र आवतजावत नै ठप्प हुन सक्ने देखिन्छ।
