२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

अदालतले रोक्यो रेडक्रसको निर्वाचन

काठमाडौं । अदालतले नेपाल रेडक्रस सोसाइटीको यही असार २७ र २८ गते गर्ने भनिएको निर्वाचन रोक्न आदेश दिएको छ। ‘नेपाल रेडक्रस सोसाइटीको निर्वाचन तथा महाधिवेशनसम्बन्धी कामकारबाही हाल जे जुन अवस्थामा पुगेको छ यथास्थितिमा राख्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० बमोजिम विपक्षीहरूका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ’, उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको आदेशमा लेखिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेडक्रस प्रशासनको आग्रहमा पत्र लेखेर निर्वाचन गर्न अनुमति दिएको थियो। प्रशासनको पत्रअनुसार निर्वाचन गर्ने तयारी थियो।

रेडक्रसका आजीवन सदस्य ईश्वरीप्रसाद दाहालले निर्वाचनविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। अदालतले दुई पक्षका कारणले विवादमा परेको संस्थामा दुवै पक्षलाई बोलाएको छ।

तदर्थ समितिविहीन बनेको संस्थाले प्रशासनको पत्रअनुसार बुधबार र बिहीबारका लागि निर्वाचन तोकेको थियो। संस्थाले गर्न लागेको निर्वाचनलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत दलले समर्थन गरेका थिए। उनीहरूले भागबण्डा नै गरिसकेका थिए।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस