२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

सर्पको डसाइबाट चार जनाको ज्यान गयो 

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको ज्यान गएको छ ।

सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।

निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए । 

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए । 

मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी निधन भएको थियो । 

यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ ।

सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा जिल्ला अस्पताल पठाइएको थियो तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए । 

सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो ।

दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो ।

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस