मुख्यमन्त्री चौधरीद्धारा मिसन लुम्बिनीको शुभारम्भ
दाङ, २९ असार । मिसन लुम्बिनी मिडिया प्रा.लि. द्धारा सञ्चालित मिसन लुम्बिनी डिजिटल पत्रिकाको शुभारम्भ गरिएको छ ।
लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पत्रिकाको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले अनलाईन पत्रकारिताको माध्यमबाट गाउँ, नागरिक र सरकारको पुलको काम गर्न सुझाव दिनुभयो ।
उहाँले ग्रामिण स्तरमा रहेका समस्यालाई उठाउनु पर्ने भन्दै खोज पत्रकारितालाई अबलम्बन गर्दै सत्य तथ्यमा आधारित यथार्थमा रहेर समाचार लेख्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
अहिलेको समयमा अनलाईन पत्रिकाको प्रभावकारीता बढ्दै गएको बताउदै मुख्यमन्त्री चौधरीले प्रदेशको सुशासन र कामकारबाहीका क्रममा हुने गरेका कमिकमजोरी औल्याउँदै राम्रा कामहरुको बारेमा नागरिक सामु लानुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै मुख्यमन्त्री चौधरीले सरकार तत्काल विस्तार हुने बताउनु भयो ।

लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीले ५० लाख प्रदेशबासी जनतासामु सरकारका काम र सरकारले गर्ने आगामी कार्ययोजना पुर्याउन आग्रह गर्नुभयो ।
उहाँले पत्रिकाको नाम अनुसार काम पनि गर्नमा तदारुकता दिनुपर्नेमा जोड दिनुभयको थियो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसददीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले पत्रकारिताले समाजमा रहेका विकृति विसंगतिलाई निरुत्साहित गर्न र विकास निर्माणलाई अघि बढाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अनलाईन पत्रिकाको माध्यमबाट जनस्तरको आवाज उठाउन समेत आग्रह गर्नुभयो ।

मिसन लुम्बिनी मिडिया प्रा.लीका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण किरण पाण्डेले गर्नुभयको थियो ।