२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

भोलिबाट सञ्चालनमा आउँदै दाङको पहिलो मल्टिप्लेक्स सिनेमा हल

शिव पुन
दाङ, २५ असोज । घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँमा निर्माण गरेको दाङकै पहिलो मल्टिप्लेक्स सिनेमा हल भोलिबाट सञ्चालनमा आउँदैछ।

घोराही उपमहानगरपालिका- ८ सौंडीकुलामा रावत र रानाले जग्गासहित करिब २० करोड खर्च गरेर निर्माण गरेको सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल यतिबेला​ सिँगारिएर झकिझकाउ बनाइएको छ । 

‘भिएफएक्स सिनेमा’ नामको सिनेमा हल सौडिकुला चोकबाट करिब ४०० मिटर दक्षिणतिर रहेको छ।

भोलि भव्य समारोहबीच विभिन्न क्षेत्रका विशेष पाहुनासहित पत्रकारको उपस्थितिमा बिहान ८ बजे हलको औपचारिक उद्घाटन गरिने हलका प्रबन्ध निर्देशक विजय रावतले बताए ।

रावतका अनुसार भोलि शुक्रवारबाट प्रदर्शनमा आउने सुपरहिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी- २’ प्रदर्शन गर्दै हल सञ्चालनमा ल्याइने जानकारी दिए । 

दुईवटा स्क्रिन रहेको हलमा एउटा स्क्रिनमा २ सय ४७ र अर्को स्क्रिनमा १ सय ६५ सिट गरि जम्मा ४ सय १२ बटा सिट रहेका छन्।

प्रबन्ध निर्देशक रावतका अनुसार तीमध्ये दुबै हलमा गरि ३६ सिट सुतेर हेर्न मिल्ने गरि बनाइएको छ।

सुतेर सिनेमा हेर्न मिल्ने सिटको प्रतिव्यक्ति साढे पाँच सय शूल्क निर्धारण गरिएको छ भने अन्य सिटको साढे तीन सय शूल्क निर्धारण गरिएको छ।

जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल ‘भिएफएक्स सिनेमा’ का सञ्चालकहरु रावत र रानाले भोलिको उद्घाटन कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्ण दङ्गाली दर्शकलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस