२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाए

काठमाडौं, १५ पुस ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीअन्तर्गत बन्दसूची बुझाउने कार्यतालिका पुस १३ र १४ गतेका लागि तय गरिएको थियो।

सोहीअनुसार सोमबार राति अबेरदेखि आज बिहानसम्म गरी ६४ राजनीतिक दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समानुपातिक प्रणालीतर्फ ११० सिटका लागि ६४ दलबाट तीन हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरिएको छ।

बन्दसूची बुझाउने दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिह्नमा र १० दलले साझा निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन्। कतिपय राजनीतिक दलबीच एकता र सहकार्यको सहमति भएकाले बन्दसूची बुझाउने क्रम राति अबेरसम्म जारी रहेको आयोगले जनाएको छ।

यस प्रणालीअन्तर्गत उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिएका थिए। आयोगले प्राप्त बन्दसूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका बनाएको छ।

छानबिनका क्रममा सच्याउनुपर्ने विवरण वा अपुग कागजात भएमा पुस २१ देखि २७ गतेसम्म दललाई समय दिइनेछ। त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म सच्याइएको बन्दसूची पुनः जाँच गरिने आयोगले जनाएको छ।

समानुपातिक प्रणालीतर्फको अन्तिम सूची माघ २० गते प्रकाशन हुने बताइएको छ।

प्रकाशित मिति : २०८२ पुष १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस