२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

नाइजेरियामा आत्मघाती आक्रमण, २३ को मृत्यु

काठमाडौं, ३ चैत ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार घटना मङ्गलबार भएको हो। यसअघि सैन्य केन्द्र र डिसेम्बरमा मस्जिदमा भएको बम विस्फोटपछि सहर अशान्त बन्दै आएको छ।

लामो समयदेखि जारी विद्रोह ग्रामीण क्षेत्रमा फैलिँदै जाँदा अवस्था थप जटिल बन्दै गएको छ। बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सका लडाकुहरूले पछिल्लो समय उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ।

उनीहरूको करिब १६ वर्षदेखिको हिंसात्मक अभियानमा ४० हजारभन्दा बढी मानिसको ज्यान गएको छ भने करिब २० लाख विस्थापित भएका छन्।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्ध समूहद्वारा गरिएको देखाएको बताएका छन्। यद्यपि, जिहादीविरुद्धका एक सदस्यलाई उद्धृत गर्दै एएफपीले मृतक संख्या ३१ पुग्न सक्ने जनाएको छ।

आक्रमणकारीहरूले मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय नजिकको फ्लाइओभर क्षेत्रमा आक्रमण गरेको बताइएको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रमा अवस्था सामान्य बनाइएको छ भने मैदुगुरी र आसपासका क्षेत्रमा थप घटना हुन नदिन सुरक्षा निगरानी बढाइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस