थारु आदीवासीहरुको हार्या गुरै र धुर्या गुरै पूजा किन र कसरी?
यो पुजा गाउँको मटावा-वरघर-भलमन्सा को नेतृत्वमा गाउँको सवै घरघुर्या-वरघर्याहरूको उपस्थितिमा गर्ने गरिन्छ । यो पुजा सम्पन्न गर्नलाई सम्बन्धित प्रगन्नाको देशवन्ध्या गुरुवाद्वारा सम्पन्न गरिन्छ ।
दाङ, ३० भदौ २०८३ (थारु सम्वत २६४९)
(अ) हार्या गुरै पूजा
– परिचयः–
आदीवासी थारुहरूले साउन–भदौ महिना तिर हार्या/हार्या गुरै पुजा गर्ने गर्दछन् । यो पुजा गाउँको मटावा-वरघर-भलमन्साको नेतृत्वमा गाउँको सवै घरघुर्या-वरघर्याहरूको उपस्थितिमा गर्ने गरिन्छ । यो पुजा सम्पन्न गर्नलाई सम्बन्धित प्रगन्नाको देशवन्ध्या गुरुवाद्वारा सम्पन्न गरिन्छ । पुजामा देशवन्ध्या गुरुवालाई सहयोग गर्ने केसौका गुरुवा पनि रहने गर्दछ ।

हार्या/ हार्या गुरै पुजा गर्नुको मुख्य उद्देश्य गाउँमा कुनै पनि खेतिपाती अर्थात विशेष गरी धान वालिमा लाग्ने रोग व्याधीवाट संरक्षण गर्ने र बालिनालीलाई अनिष्ट तथा प्रकोपबाट जोगाउन रहेको छ । हार्या गुरै पुजा सम्पन्न गरेपछी बालिनाली खासगरी धान खेतीमा कुनै पनि किरा फट्याग्राहरू, रोगहरू नलागोस र उब्जनीमा वृद्धि होस भन्ने आस्था र विश्वास रहेको छ । हार्या गुरै पुजालाई कुवारे दशैं को नामले पनि पुकार्ने गरिन्छ ।
– हार्या गुरै नाम कसरी रहन गयो ?
साउन – भदौ महिना सवैतिर हरित तथा हराभरा गुल्जार रहकोले यसको नाम हार्या गुरै रहको हो भन्ने पुर्खा र अग्रजहरूको भनाइ रहेको छ । खेतवारीमा सवै तिर वालिनाली हराभरा रहेको हुन्छ । वन जंगलमा रुख विरुवाहरू सवै हरियो रहेको हुन्छ र सम्पूर्ण वातावरण र मनमोहक हरीयो रहोस र मानव जिवन पनि यसरी नै हर्सित रहोस भनेर पुजा गर्ने चलन रहेकोले यसको नाम हार्या गुरै रहन गएको हो ।
– हार्या गुरैको पुजा विधिः–
सर्वप्रथम गाउँको सवै घरधुर्या÷वरघर्याहरूलाई हार्या गुरै पुजा कहिले गर्ने हो भन्ने विषयमा मटावा÷वरघर÷भलभन्साले ख्चाल वोलाएर (वैठक सभा) बाट तिथि मिति तय गर्दछन् । तिथि मिति निश्चित भएपछि मटावा÷वरघर÷भलभन्सा देशवन्ध्या गुरुवाको घर गएर गुरुवालाई निम्ता दिने र देशवन्ध्या गुरुवाको घरको दिउटा (देवता) हरू व्याटक लठ्ठि (वेट बासको लठ्ठी) र सौरा थारु समुदायको पृत्री देवताको प्रतिक लिएर आउँछन् ।
(क) गुरै पुजाको पहिलो दिनः–
मटावा÷वरघर÷भलभन्साले सवै घरधुुर्या÷वरघर्याहरूलाई सवेरै आफ्नो घरमा वोलाउँछन् । मटावा÷वरघर÷भलभन्साले सहभागीतात्मक रुपमा कामको वाँडफाँट गर्दछ । केहि घरधुर्याहरू नदि, खोला, ताल तलैयाहरू मा माछा, गंगटा, घोंघी को जोहो गर्न जाने गर्दछन् । केहि घरधुर्याहरू गाउँको भूह्यारथानमा सरसफाइ गर्ने गर्दछन् । केहि घरधुर्याहरू तरकारी साग सब्जीको व्यवस्थाको लागि जिम्मा लिने गर्दछन् ।
केहि घरधुर्याहरू देशवन्ध्या गुरुवा, केसौका गुरुवाहरूलाई साझमा पुजाको लागि देवताहरुलाई चढाउने पकवानहरूको व्यवस्थामा लाग्ने गर्दछन् भने केही घरधुर्याहरू प्रत्येक घरधुरीवाट जाँड, रक्सी, साग सब्जी संकलनको लागि जिम्मेवारी लिने गर्दछन् ।
गुरै पुजा भूह्यार थानमाः– गुरै पुजाको पहिलो दिन साझको वेलामा गाउँको साझा देउता भुह्यार थानमा सम्पन्न गर्ने गरिन्छ । भुह्यार थानमा मटावा÷वरघर÷भलभन्सा, केसौका र देशवन्ध्या गुरुवाले पुजा गर्ने गर्दछन् ।
विशेष तह देशवन्ध्या गुरुवाले र केसौका गुरुवाले चोखो पानीले हातमूख र पैताला (पाउ) धोएर पुजा स्थानमा विछ्याइएको गुन्द्री र कम्बलमा आसन गर्दै देशवन्ध्या गुरुवाले आफ्नो मन्त्रसंगै केसौका गुरुवालाई सँगसँगै पुजामा सरिक गराउँछन् । गुरै पुजा गर्ने ठाउँमा गुरुवाको घरवाट ल्याएको वेटको लठ्ठी र सौरा राखेर पुजा गर्ने गरिन्छ । पुजा देशवन्ध्या गुरुवावाट मन्त्र उच्चारण र चोखो चामलको अछेता हातमा लिएर टोपी भुइमा राखेर गरिन्छ । भूह्यार थानमा मन्त्रद्वारा पुजा सम्पन्न गरेर सकेपछि सुँगुरको पाठो र चल्लाहरूको वली दिने गरिन्छ । पूजाको समयमा वेमौटाको माटोको वखारी (भखारी) वनाएर वह्रिमा (वैठकमा) वा आंगनमा सतविज भरेर जाख्नी राख्ने गरिन्छ । त्यसैगरी सुँगुरको टाउकोको खोक्टीलाई खाल्टोमा गाडेर व्यवस्थापन गर्ने गरिन्छ ।
हार्या गुरै पुजा गर्दा देउताको थानमा नमेह्रीक पत्या (मालुको पात) को टेप्रामा जीउनारको भात चह्राउने चामलको ढिक्रि मालुको पातको टेप्रामा राखेर चह्राउने, ध्यूको लुची चह्राउने, खिरभात चह्राउने गर्दछन् । पूजा गर्ने स्थानमा सेन्दुरले (सिंन्दुरले) टीक्ने र सालको पातको पाला (बत्ती) बनाएर बाल्ने गर्दछन् । त्यसैगरी दुधाधारी –सुच्चाचारी मद (रक्सी) मुखी भनेर तीन चिह्री दोनी, तीन चिह्री दोनी जल र तीन चिह्री दोनी मद छाकि वुन्ढीको रुपमा चह्राउने गर्दछन् । वगाहा थतैइना (व्यवस्थापन) वाचाको रुपमा केसौका गुरुवा मार्फत बोलीवचन लगाउने गरी देश बन्ध्या गुरुवाले मन्त्र उच्चारण गरेर पुजा गरिन्छ ।
र वर्दिहवाहरु (ग्वालाहरू)लाई शिवलिङ्गको पुजा गर्न लगाइन्छ । शिवलिङ्गको पुजा विशेष तह साझको समयमा पानी पधेरो जाने वाटोमा पुज्ने चलन छ । गाउँले वर्दिह्वा (ग्वाला) हरूले दुइवटा काठको लिङ्ग वनाएर अवीरले रंगाएर पानी पधेरो जाने वाटोमा उत्तरदक्षिण गरी काठको दुवै लिङ्गहरू माटोमा गाड्ने चलन छ । त्यहि लिङ्ग नेर एउटा सानो जिउदो चल्ला छोड्ने चलन पनि छ । यसरी साझमा जिवित छोडेको चल्ला विहान सम्ममा जिवित रहेमा गाँउलेहरूले छोपेर घरमा लगेर पाल्ने चलन पनि छ । हार्या गुरै पुजामा पधेरो जाने वाटोमा काठको लिङ्गलाई ठडयाएर पुजा गर्नुको आस्था प्रजनन् कार्यमा वृद्धिको लागि कामना गर्ने रहेको छ । भूह्यार थानबाट लगेको रोटी, ढिक्री र अन्य खानेकुराहरु प्रसादको रुपमा बाँडीचुडी सबैजनाले ग्रहण गर्ने गर्दछन् ।
(ख) हार्या गुरै पुजाको लागि आवश्यक सामानहरू :-
हार्या गुरै पुजाको लागि निम्न सामग्रीहरू जरुरी हुन्छ ।
– सेन्दुर (टीका टीक्नका लागि)
– सालको मात र तोरीको तेल (पाला बत्ती बाल्नका लागि)
– चोखो जिउनारको भात, चामलको चोखो ढिक्रि
– देवताहरूलाई वलि भोगको लागि सुँगुरको पाठोहरू
– ध्यू लुचि (चामलको पिठो ध्यू मा पकाएर वनाएको परिकार)
– चोखो खिरभात, दुइवटा काठको शिवलिङ्ग ।
– दुधाधारी–सच्चाचारी मद मुखी (तीन दुना चोखो जल, तीन दुना मद छाकीवुन्दी दिनलाई र तीन दुना दुध ।
– कुंश, पसाउन लागेको धानको बुटा
– वेमौटाको माटोवाट वनेको वखारी (सतवीज भरेर जाख्नीको रुपमा राख्ने),
– चल्लाहरू, सुँगुरको पाठोको मुन्ता (टाउको) को खोक्टी, कुश, पसाएको धान (पसाउन लागेको धानको वोट), गाइको दुध, मादल, गुरुवाको घरको देवताहरू (सौरा, वेटको लठ्ठी), एक कस मद (रक्सी) इत्यादी चाहिन्छ ।
– गुन्द्री, कलसमा चोखो पानी, चामलको सादा अछिता ।
– माछा, घोङ्गी, गेक्टा (पूजा पछि खाने परिकार) ।
(ग) अखरिया नाँच (मन्द्रा खुलैना विधि):-
गाउँको भुह्यार थानमा गुरै पुजा अनुस्थान सम्पन्न गरी सकेपछि मटावा÷वरघर÷भलमन्साको घरको वह्रिमा (वैठक कोठा) मा मटावा देशवन्ध्या गुरुवा र केसौका गुरुवाहरू जम्मा हुन्छन् । देशवन्ध्या गुरुवा र केसौका गुरुवा गुन्द्रीमा संगै वस्ने गर्दछन् । गाउँलेहरूलाई मादल लिएर आउन भनिन्छ । सवै मादल एकठाउँमा चाँङ्ग मिलाएर राखिन्छ । देशवन्ध्या गुरुवाको देवता वेटको लठ्ठि र सौरा (फलामले वनेको पित्रृ देवता) लाई देशवन्ध्या गुरुवा र केसौका गुरुवा सँगै राखेर चोखो अछेताले छर्केर देशवन्ध्या गुरुवाले मन्त्र उच्चारण गर्दै केसौकालाई मौलिक नृत्य अखरिया नाँच को लागि निर्देशन दिन्छन् ।

देशवन्ध्या गुरुवाले भएको सवै मादलको झन्कार (स्वर) चेक गरेर गाउँका मान्छेहरूलाई वजाउन निर्देशन दिन्छन् । गाउँका घरधुर्याहरुले सबैजना विशेष तरीकाले मादल बजाने गर्दछन् भने त्यही मादलको झन्कारसँगै केसौका गुरुवालाई काम (काम्ने) शुरु भएपछि देशवन्ध्या गुरुवाको बेटको लठ्ठि लिएर मादलको तालमा सुसाउदै अखरिया नाँच सम्पन्न हुन्छ । थारु समुदायमा यसरी बजाइएको मादलको झन्कार जति टाढासम्म पुग्छ त्यहासम्म बालिनालीमा लाग्ने रोग ब्याधा, प्रकोप तथा अनिष्ट आउन नसक्ने विश्वास गरिन्छ । अखरिया नाँचबाट थारु समुदायमा नाचगान तथा मादल बजाउन खुल्ने अर्थात अनुमति पाइने चलन रहेको छ ।

यो नाँच देशवन्ध्या गुरुवाको विशेष मन्त्रवाट मादल साजेर (मादलको स्वर विचार) गरी केसौका गुरुवालाई अखरिया नाँच नचाएर, चोखो जल र मद (रक्सी) पियाएर अखरिया नाँच रोक्ने गरिन्छ । साथै रहरंगी (समाइलोका लागि) अखरीया नाचको बेलामा देश बन्ध्या गुरुवाहरुले केसौका गुरुवाहरुले लगाएको भेग्वा (अंगुछा) को एक पाटो फुस्काइदिने पनि गर्दछन् । केसौका गुरुवाले अखरीया नाच चाच्दा कुनै कुनै गाउँमा गुइठाको आगोमा नाङगो खुट्टाले नाच्ने गर्दछन् । यसरी केसौका गुरुवा नाच्दा गाउँका मानिसको सरीरमा रहेका बेकार बस्तुहरु र पाप कटेर जाने विश्वास गरिन्छ ।

(घ) मटावा-वरघर-भलमन्साको कुलदेवताको पुजाः–
अखरिया नाँच सम्पन पश्चात मटावा÷वरघर÷भलभन्साको देउरारमा रहेको कुल देवताको कोठामा पालामा वत्ति वालेर मादलको त्रासन वजाउने गरिन्छ । यसको साथै मटावा÷वरघर÷भलभन्सा को घरको पूर्व र पश्चिम आगनमा पालोपिलो मादलको त्रासन बजाउने गरिन्छ । मादलको त्रासन वजाउनुको कारण जति टाढाटाढा सम्म मादलको त्रासनको आवाज सुनिन्छ त्यहाँसम्म बालिनालीमा किराफट्याङ्गा नलाग्ने तथा गाउँका सम्पूर्ण मानव जिवनमा लाग्ने विभिन्न रोग व्याधा, भुत प्रेत, अनिष्ट हुनबाट बचाउछ भन्ने जन विश्वास र आस्था रहेको छ।
(ङ) खानपिन सम्पन्नः–
पहिलो दिन सवै पुजा अनुस्थान सम्पन्न भएपछि मटावा÷वरघर÷भलभन्सा को घरको वह्रिमा (वैठक कोठामा) देशवन्ध्या गुरुवा, केसौ गुरुवा, मटावा लगायत गाउँको सवै घरधुर्या÷वरघर्याहरूले सँगै लामबद्ध रुपमा वसेर तयार पारेको परिकार र पिउने पेय पदार्थ ग्रहन गर्ने गर्दछन् ।
खाने परिकारहरूः– छावेको जाँड, मद (रक्सी), जारको झोलहरू पिउने गर्दछन् । त्यसैगरी खाने परिकारहरूमा भुह्यार थानमा वली चढाएको सुँगुरको मासु, चल्ला को मासु, ढिक्री, साग–सब्जी, गेडागुडी रहेको हुन्छ । हार्या गुरै वर्षा को समय रहेकाले माछा, गेगटा, घोघीहरू पनि खाने विशेष परिकारको रुपमा रहेको हुन्छ ।
(च) समरौटी गीत र नाँचः–
पहिलो दिनको गुरै पुजा अनुस्थान सम्पन्न भएपछि मटावा वरघर÷भलभन्साको घरमा समरौटी गीत र नाँच नाच्ने कार्य शुरु हुन्छ । झण्डै–झण्डै २–३ महिनाको मादल वजाउने वन्द रहेको अवधि यसै दिनको नाँच र गीत संगीत वाट खुल्ला हुन्छ । भुह्यार थान र देवी देवताको नाम पुकारदै अर्थात् समरौटी गीत गाउने र छोक्रा नाँच पनि नाच्ने गाउने हुन्छ । जस्तैः
१) ए हा पूरव मै समिरौ सुरुज भरार, हमारी मेररीक करो रक्षा पाल ।
२) ए हा उत्तर मै समिरौं हरिकविलास, हमारी मेररीक करो रक्षा पाल ।
३) ए हा पश्चिउ मै समिररौं देवी औतार, हमारी मेररीक करो रक्षा पाल ।
४) ए हा दखिन मै समिरौ शिउ जगन्नाथ, हमारी मेररीक करो रक्षा पाल ।
५) ए हा आकास मै समिरौ इन्द्रा छिन्द्रा देव, हमारी मेररीक करो रक्षा पाल ।
६) ए हा पातालमै समिरौ वासुक नाग, हमारी मेररीक करोरक्षा पाल ।
यो गीतको नाचमा महिलाहरु दशैह्या नाच नाच्ने गर्दछन् ।
गीतको भावार्थ:- उत्तर – दक्षिण – पूर्व – पश्चिम – आकाश – पाताल लगायत आफ्नो गाउँको देवी देवताहरू लाई पुकार गरेर सवै देवी देवताहरूलाई वाचा गरेर मादल वजाउने र नाच्ने कार्य को अनुमती लिदै सुभारम्भ हुन्छ । मटावा÷वरघर÷भलभन्सा चलन भएको गाउँमा नाँच, गित र वजाउने मादल मकै खेतीको सुभारम्भ र धुर्या गुरै पुजा पछि वन्द हुने गर्दछ । यो कार्य परापूर्व काल देखी चलनमा रहेको आस्था र विश्वास छ । गाउँमा मादल वजाउने र नाँच गीत खुलाउदा हार्या गुरै पुजा पश्चात शुरु हुन्छ । र यसरी नाँच, गीत, मादल, वजाउने कार्य शुरु गर्दा देवीदेवताहरूलाई पुकार गर्ने, अनुमती लिने, वाचा गर्ने आस्था र विश्वास छ । यि कार्य अनिवार्य जस्तो नै हो । यदी गरिएन भने गाउँमा अशुभ हुने विश्वास छ । छोक्रा नाँचको सम्रौती गीत निम्न अनुसार रहेको छ । जस्तैः–
१) सदा भवानी दाहिन रे सदा भवानी दाहिन रे श्रीधन करे गणेष, अरी हे पंचो दिउटा रक्षा करही व्रहमा विष्णु महेश इत्यादी ।
छोक्रा नाँचको समरौती गीत सकेर गुरुवावक जलमौती गीत गाएर नाच्ने गर्दछन् । गुरुवावक जल्मौतीमा पृथ्वीको श्रृष्टी, मनुस्य र जीव जन्तुको कसरी जन्म हुन्छ भन्ने वारेमा गुरुवावक जल्मौतीको महाकाव्य मा भएको वारेमा गीतको माध्यम वाट उल्लेख गरेको पाइन्छ । जस्तैः–
१) हाहारे पहिलत वर्ष धुन्धि र कुहिर ! आव दैया कलजुग घेरल मिरती भवन !!
२) हाहारे दोसरत वर्ष कोइला कै रेख ! आव दैया कलजुग घेरल मिरती भवन !!
३) हाहारे एक महिना गुरुवावा नहि र सरपुण ! एक महिना गुरुवावा लेहल काठि चिमटा जलम !!
४) हाहारे चौध महिना गुरुवावा नाहि र सरपूण !! चौध महिना गुरुवावा लेहल हाथी जलम !!
५) हाहारे पन्ध्र महिना गुरुवावा लेहल अवतार ! पन्ध्र महिना गुरुवावा कहरक (कुपिण्डो) वनवन लेहल अवतार !!
– हार्या गुरै पुजाको दोश्रो दिनः–
हार्या गुरै पुजाको दोश्रो दिन एउटा मौलिक आस्था र विश्वास छ र यो दिनमा विहान देखि मिन्हीजून सम्म (अर्थात दोपहर अर्नि खाने बेला सम्म) मा गाउँमा कसैले पनि ढिकी कुट्ने, जातो पिस्ने, घासपात काट्न जाने, तरकारी साँगपात टिप्न जाने, हलो जोत्न जाने लगायत काम वन्द हुन्छ । यदी कुनै व्यक्तिले जानेर वा नजानेर माथी उल्लेखीत कार्य गरेमा खारा मार्ने (दण्ड सजाय) गर्ने चलन छ ।
किनकी यदि कसैले माथी उल्लेखित कार्य गरेमा धान वालीमा हानी नोक्सानी हुन्छ र सै नलाग्ने (अर्थात फल उत्पादन हराउने) मान्यता र विश्वास रहेको छ । खारा मार्ने कार्य मटावाको अगुवाइमा सहभागीतात्मक निर्णय गरेर गर्ने चलन छ । यसरी थारु समुदायमा अलिखित नियमहरु भएपनि नैतिकता, आस्था र विश्वासमा मटावा÷बरघर÷भल्मन्साको नेतृत्वमा गाउँलाई व्यवस्थित रुपमा चलाएको पाइन्छ ।
(क) खिरभन दर्नाः–
हार्या गुरै पुजाको दोश्रो दिन विहान पख गाउँको सिमानमा रहेको कुलोको मुख्य–मुख्य मुहार (मूहान) मा खिरभन हाल्न जाने गरिन्छ । खिरभन विशेष गरेर कुश, भर्खरै पसाउन लागेको हरियो धानको पुल, गाइको दुध एउटैमा मिसाएर (पिसेर) वनाउने गरिन्छ । देशवन्ध्या गुरुवाको विशेष मन्त्रले साजेर (पुकारेर) धानवालीको रक्षा र उत्पादन वृद्धि र कुनै प्रकारको प्रकोप वा अनिष्ट नहोस भनेर कामना गरिन्छ। कुलोको मुहानमा खिरभन हाल्न कन्या केटी र केटा द्वारा सम्पन्न गरिन्छ ।
(ख) वन्द काम खुलाउने विधिः–
कन्या केटा र केटीले गाउँको मुख्य कुलोको मुहानमा खिरभन विसर्जन, गरेर आएपछि मटावा÷बरघर÷भल्मन्साको घरमा देशवन्ध्या गुरुवा, केसौका गुरुवा, मटावा÷बरघर÷भल्मन्सा, घरधुर्या÷वरघर्याहरूले खानपिन गर्दछन् । खानपिन कार्य सम्पन्न भएपछि मिन्ही खाने समय (दोपहरमा) देशवन्ध्या गुरुवाले मादलको त्रासन (स्वर) बजाएर गाउँलेहरूलाई वन्द काम खुलेको जानकारी दिने गर्दछ । यसपछि देशवन्ध्या गुरुवाको घर मा पहुरा (कोसेली) पठाउन जाने कार्य हुन्छ । देशवन्ध्या गुरुवाको घरमा पुजा गरेको चारखुट्टे जिता (सुंगुर) को मुन्टा र पछिल्तिरको फेन्डवा (सपेटा) पहुराको रुपमा दिने चलन छ । केसौका गुरुवालाई पनि वायाँतिर को फेन्डवा दिन जाने गरिन्छ ।
(आ) धुर्या गुरै पुजा
– परिचयः–
धुर्या गुरै पुजा मटावा÷वरघर÷भलभन्सा को नेतृत्वमा देशवन्ध्या गुरुवाद्वारा गाउँको भुह्यारथान मा सम्पन्न गर्ने गरिन्छ । यो पुजामा केसौका गुरुवा देशवन्ध्षा गुरुवाको सहयोगी को भूमिकामा रहेको हुन्छ । यो पुजा विशेष गरेर अधेरी रातमा गर्ने गरिन्छ । मान्छे लगायत पशुपंक्षीहरूमा विभिन्न रोगव्याधहरू, सरुवा रोगहरू रोकथान गर्नको लागि गरिने पुजालाई धुर्या गुरै पुजा भनिन्छ । यो पुजामा गाउँको भुह्यारथानमा पशु र पंक्षि वली दिएर देवी देवतालाई पुजन गरिन्छ ।
धुर्या गुरै पुजा विशेषगरी चैत्र – वैशाख – जेठ महिना तिर गर्ने गरिन्छ । यो अवधिमा सुर्यको प्रचण्ड गर्मि हुन्छ । धरती धुर्या मत्या हुन्छ अर्थात धरतीमा घासपात सुकेको हुन्छ । रुखहरू पनि पात विनाको हुन्छ । पुजाको समयमा धर्तीमाता जर्जर, धुलैधुलो, रुखमा पातपतिङ्गर सुकेको खुङ्खार, सवैतिर धुर्या धुकुन भएको हुनाले यो पुजाको नाम धुर्या गुरै पुजा रहन गएको विश्वास र मान्यता छ ।
– धुर्या गुरै पुजा किन गरिन्छ ?
जर्जर माटो, तातो हावा, प्रचण्ड गर्मि भएको यो समयमा भूतप्रेत, थेगाँहा, दाइनमाइन, कन्या जोग विराहा जोग, उलुवा डुलुवा जोग, छिहिन्दी जोग, गाउँ अगर गाउँपगर जोग, विना साविक विनागतिक मरेको, वाघले चिथोरेको, सर्पको दशाइ वाट मरेको, हाइहल्ला वाट मरेको, माटोवाट पुरिएर मरेको, विना मुरिक विना लुरिक मरेको, कौवा चिलले खाएको मान्छेहरू भूतप्रेत वनेर, मसान वनेर वा विभिन्न सरुवा रोगव्याध वनेर मानव लगायत विभिन्न पशुपंक्षीहरूलाई दुख कष्ट दिने अवस्था रहने मान्यता र विश्वास थारु समुदाय मा रहेको पाइन्छ र यी माथी उल्लेख भएको पक्षबाट वच्न र सुरक्षित रहन लाई भुह्यारथानमा हार्या गुरै पुजा गर्दै आएको पाइन्छ ।
– धुर्या गुरै पुजा विधिः–
गाउँको भुह्यारथानमा गाउँको मटावाले गोवर लिपपोत गर्ने गर्दछन् । देशवन्ध्या गुरुवाको घरवाट ल्याएको देउता वेटको लठ्ठि र सौरालाई भुह्यारथानको अगाडी राख्ने गर्दछन् । देशवन्ध्या गुरुवाले सवै मुराहमा धागोले पगरी पहिरयाउने, माटोको पाला वा हरीयो साखु (सालको पात) को पालामा वत्ति वाल्ने, सिन्दुर टिक्ने, खापर (डोगर) राख्ने, वेमौटा माटोको घोर्वा (घोडा) वनाएर भुह्यारथान अगाडी राख्ने, माछा सहित पाँच किसिम को तरकारीहरू पाँचवटा पातको टपरीहरूमा राखेर पाँच पाण्डवहरूको सम्झनामा चढाउने गर्दछन् । त्यसैगरी क्रमशः सवै देवी देवताहरूलाई ढिक्री चढाउने गर्दछन् । यसैगरी देशवन्ध्या गुरुवा र केसौका गुरुवाले भूतकाँट (फलामको काटा) मन्त्रले साझ्ने गर्दछन् । त्यसपछि देशवन्ध्या गुरुवाद्वारा वर्णखती (मन्त्र) शुरु गर्दछन् ।

दहरचण्डीः
विशेष गरी दाङ बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेत क्षेत्रका थारु समुदायहरुको गाउँको सामुहीक रुपमा पूजा गरिने भूह्यार थानमा दहरचण्डी देवता रहेको हुन्छ । दहरचण्डी दुइवटा काठको बुट्टादार फल्याहरु गाडेर राखेको हुन्छ । यी दुईवटा बुट्टादार फल्याहरु महादेव र पार्वतीको प्रतिकको रुपमा रहेको मान्यता छ । यी दुईवटा फल्याहरुमा व्रमाण्डको श्रृष्टीसँग जोडिएका प्रकृति, सुर्य, चन्द्रमा, तारा तथा जलचर, थलचर जीवहरु जस्तै सर्प, विछी, भ्यागुता, माछा, गड्यौला, कछुवा, इत्यादीको चित्र अंकित गरिएको हुन्छ ।
यसरी प्रकृति पूजक थारुहरुले श्रृष्टीलाई अनन्त कालसम्म टिकाई राख्नका लागि व्रहमाण्डमा रहेका घाम, पानी, वादल, चन्द्र, सुर्य, तारा, वनस्पती, जिव जन्तुहरुलाई देवताको रुपमा स्थान दिई पूजा गरिन्छ । यसरी सृष्टी, प्रकृती, जीवजन्तु, वनस्पती र मानवको सह अस्तित्व रहेको लागि ठूलो महत्व राख्दछ भन्ने विश्वास गरिन्छ । सम्पूर्ण पर्यावरणको संरक्षकको रुपमा गाउँको भुह्यार थानमा दुई वटा मुराहामा दहरचण्डी अर्थात पार्वती महादेवको प्रतिमा गुरै पूजा गर्ने चलन रहेको छ ।

(क) वर्णखती- बरनख्ना मन्त्रः भुह्यार थानमा पूजा सामाग्री चढाएर मटावा-बरघर-भल्मन्साको नाम (………) उच्चारण गर्दै नाउँ जेकर आज त जैस, ढिकर पिठा जीउ जिउनार, टुहिन दिहत बाटी, टु कहलग्लो हेरो, सुनो दिउतो सत जुगजाई, कलजुग जाई तो मानपती दिउतो अवतार लिहेही, तुन्हक नौना कृति थली जही, टु कह लाग्गैलो हरे सुनो दिउतो ।
१) दहरचण्डी चवहोक मुराह वाटो, पाँच पाण्डो छत्तिस नारायण पाण्डो, आज त जैस तुनक ढिकर पिठा जिउ जिउनार तो दिहत वाटी, तो कहलाग गैलोहरे सुनो देउतो ।
२) दुधाधारी सुचाचारी वाटो, खेत र पाल वुह्रि देव जई जाखनी वाटो, मुराहा मटावा घोटैली, आज त जैस तुनक ढिकर पिठा जिउ जिउनार तो दिहत वाटी, तो कहलागगैलो हरे सुनो देउतो ।
३) फलाना नाउँ (मटावा÷बरघर÷भल्मन्साको नाम उच्चारण गर्ने) जेकर आज त जैस तुनक ढिकर पिठा जिउ जिउनार टो दिहत वाटी, टो कहलागगैलो हरे सुनो दिउटो ।
४) सत जुग जाइ कल जुग जाइ तो मानपति देउता औतार लिहेहि, तो कह लाग गैलो हरे सुनो देउतो ।
५) हरियाक म्याला गैलो तो धुर्याक म्याला आइल तो जैस तुनक ढिकर पिठा जिउ जिउनार तो दिहत वाटी तो कह लागगैलो हरे सुनो दिउतो ।
यसरी नै देशवन्ध्या गुरुवाले आफूले जानेको सम्म तेत्तिस कोटी देवताहरूको नाम मन्त्रो उच्चारण (वर्णखती) गरेर सकाउछन् । वर्णखती सकेर देशवन्ध्या गुरुवा र केसौका गुरुवाले गुरै पुजा मन्त्र उच्चारण गरेर भुह्यारथानमा पुजा गर्दछन् । देशवन्ध्या गुरुवा र केसौका गुरुवाले गुरै पुजा सकेर देशवन्ध्या गुरुवाले केसौका गुरुवालाई वाचावोली गर्न लगाउँछन् ।
देवता सँग माग गर्ने – र देशवन्ध्या गुरुवाले केसौका गुरुवालाई वोली वाचा लगाउने मन्त्र:-
जस्तैः
देशवन्ध्या गुरुवा एक ग्यारा निकास सै ग्यारा पैठार आवन कोठी वाउन भखारी घर घर भण्डार के भराई गुनी ?
केसौका गुरुवा – जा र गुणी हम्र भरैवी ।
यसरी तीन पटक सम्म वाचा गराउने गर्दछन् ।
(ख) बाचामन्त्र जस्तैः
शिउ शिउ शिउ जाई, तोर मोर वाचा दे काचा करी, शहिदेव नरक परी, धिल धाल पथरपाल, वारो वर्ष अठार जुग, जुग जाइ जोग्याथ जाइ, गुनीकानी गुणी वच्चा, तिनलोक वरम वच्चा, धर्ती डगी मेघ गर्जी म्बार भर्वो मन्झायक (दुधाधारी सुचारीवारी) कारण कैस डगी र गुनी ? केसौका गुरुवा – जा गुणी हम्र सहेर्वी । यसरी देशवन्ध्या गुरुवाले केसौका गुरुवालाई वाचा मन्त्र दिएर सकेपछि देशवन्ध्या गुरुवाले केसौका गुरुवा मार्फत भूत थोकाउने गर्दछन् । भूत थोकाउनु भन्दा पहिले देशवन्ध्या गुरुवाले उक्त रोग व्याथा लाग्ने, भूत प्रेत पिचासहरूलाई मन्त्रो उच्चारण गरेर निमन्त्रणा गर्दछन् ।
जस्तैः
सुतल देव जगाइत वाटु, भुखाइल देव मन्वारत वाटु भन्दै यदि कुनै भूतप्रेत पिचास ले नमाने या देशवन्ध्या गुरुवाले आफ्नो भेर्वा देवता लाई खरताक÷खारतार पठाउँछ । जस्तैः जा भेर्वा वाधेर भएर पनि लिएर आइज भन्ने गर्छन् ।
जव सवै भूतप्रेत पिचासहरू देशवन्ध्या गुरुवाको मन्त्रोउच्चारण द्वारा निमन्त्रण पाएपछि आइसकेपछि गुरै पुजा शुरु भएर समापन हुन्छ । त्यसपछि भूत थोक्ने काम शुरु हुन्छ ।
(ग) भूत थोकाउदा मन्त्र उच्चारण गर्दैः–
सौ सौ भूत भन्दै दहरचण्डी मुराह मा केसौका गुरुवा मार्फत लोहाको गजामङगुर नामक भूतकाँटा थोकाउने (गाड्ने) गर्दछन् ।
यदि कुनै गाउँमा भूत प्रेत पिचास मारेको छ भने त्यो गाउँमा धुर्या गुरै पुजा सम्पन्न गर्दा दहर चण्डीको मुराहमा भूत थोकाउने गर्दछन् । तर जून गाउँमा भूतप्रेत पिचास मारेको छैन भने मुराह हलोको फह्रैमा अथवा सिउरी को काटको गेण्डा वनाएर भूत थोकाउने गर्दछन् । यसरी उत्तर–दक्षिण–पूर्व–पश्चिम–आकास–पातालमा बस्ने भूतप्रेतात्मक र पिचासहरूलाई भुह्यारथानमा रहेको दहरचण्डी मा अन्धेरी रातमा भूत थोकाएमा उक्त गाउँको सिमानामा कतै वाट पनि सातोसम्या, रोगव्याथा आउन सक्दैन भन्ने मान्यता, विश्वास थारु समुदायमा रहदै आएको छ ।
– धुर्या गुरै पुजा र हार्या गुरै पुजामा फरक:-

– धुर्या गुरै पुजा र हार्या गुरै पुजामा समानता:-

– हार्या गुरै र धुर्या गुरै पुजाको चुनौती र अवको वाटोः–
– धेरैजसो थारु आदीवासी गाउँहरूमा मटावा-वरघर-भलभन्सा प्रणाली लाई निरन्तरता दिएको पाइदैन । मटावा÷वरघर÷भलमन्सा प्रणाली नभएको गाउँमा भुह्यार थान हुदैन । भुह्यारथान नभएपछि देशवन्ध्या गुरुवा उक्त गाउँमा गएर गुरैपाटी गर्ने कार्य पनि हुदैन । त्यसैले देशवन्ध्या गुरुवाले मटावा-वरघर-भलभन्सा को नेतृत्वमा सञ्चालन गर्ने हार्या गुरै पुजा गर्ने चलन हराउदै गएको छ । अवको पुस्तामा हार्या गुरै पुजा को महत्व वारे पूस्तान्त।ण गर्न जरुरी छ ।
– पहिले पहिले देशवन्ध्या गुरुवाहरूले गाउँगाउँमा गुरै पुजा गरेवाफत वा आफ्नो वारी फूलरिया (आफ्नो प्रागन्ना) धार्मिक सांस्कृतिक पुजा गरे वाफत आफ्नो समयको ज्यालाको रुपमा वेगारी लिएर आफ्नो खेतीपाती र घरको काम सम्पन्न गराउदथे । आजभोली अन्न धान वाली उठाएर दिने चलन पनि रहेको छ । देशवन्ध्या गुरुवाको घरमा श्रमको रुपमा सहयोग गर्ने वेगारी पनि दिन नसक्ने र अन्नवाली पनि उठाएर दिन नसक्ने भएकोले पनि कतिपय गाउँहरूमा गुरै पुजा गर्ने चलन मा विचलन आएको पाइन्छ ।
– कतिपय गाउँमा गुरै पुजा मा लाग्ने सरसामानहरू को लागि वढि खर्चिलो लाग्ने भएकोले पनि निरन्तरता नभएको पाइन्छ । अवको युवा पिंढी मा गुरै पुजा वारे को महिमा, गुरै पुजाले गाउँलेहरूलाई मौलिक संस्कृतिको महत्व, हार्या गुरै प्रति को आस्था, प्रकृति प्रतिको सम्मान र सांस्कृतिक तथा धार्मिक पहिचान सँग जोडिएको पक्ष वारे ज्ञान शिप पूस्तान्तरण गर्नुपर्ने देखिन्छ ।
– थारु आदिवासी गाउँहरुमा हार्या गुरै र धुर्या गुरै पूजा गर्ने प्रचलनमा कमी हुदै गएको छ । प्राचिन कालबाट मौलिक पूजा हार्या गुरै र धुर्या गुरै पूजालाई रिन्तरता दिन नसक्नु भनेको थारुहरुको गाउँको मौलिक साझा पूजालाई वेवास्ता गर्ने र अन्य समुदायको चलनलाई आयातित गरी लागु गर्नु भनेको हाम्रो आफ्नो इतिहास र सभ्यतालाई चुनौति दिने र पूर्खाहरुको परम्परा, इतिहासलाई कुठाराघात गर्नु हो । त्यस कारण हार्या गुरै र धुर्या गुरै पूजाको निरन्तरता दिन जरुरी छ ।
सन्दर्भ सामाग्रीः
– थारु, चन्द्रप्रसाद– थारु जातिमा आधारित “हमार रिति हमार धर्म पोस्ता” प्रकाशान वि.सं. २०७५ ।
– थारु, बेझलाल– थारु कला संस्कृति जानकार घोराही उपमहानगरपालिका वडा नं. ७, सिसहनिया दाङ, अन्तरवार्ता, वि.सं. २०८३ ।
– चौधरी, जुठीलाल– थारु धर्म संस्कृति जानकार गुरुवा, तुलसीपुर उपमहानगरपालिका वडा नं. १५, गब्दहवा दाङ अन्तरवार्ता, व.सं. २०८३ ।
– चौधरी, भुवन एण्ड इट।अल ९२०८३०( थारु समुदायको प्रथाजनित सस्था( मटावार वरघररभलमन्सा तथा प्रगन्ना प्रणाली, बैकल्पिक अनुसन्धान केन्द्र, नेपाल, पकाशन( २०८३।
(लेखक:- बेस संस्थाको कार्यकारी निर्देशक तथा थारु कल्याणकारीणी सभाका केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ) ।