२०८३ जेष्ठ २१ गते बिहिवार | 2026 June 4th Thursday

खुला दिसामुक्त दाङको अवस्था, शौच गर्न चियाको बहाना

शौचालयको ढोकामा ठूलो ताला झुड्याएको थियो । माथि सार्वजनिक शौचालय लेखेको थियो तल दिसा गरेको रू. १० र पिसाब गरेको रू. ५ लेखेको थियो ।


दाङ,
बिहानको १० बजेको थियो । तुलसीपुरको विपी चोक नजिकै एक महिलाले कपडा किन्दै थिइन् । कपडा किन्दै गरेकी उनलाई शौच जानुपर्ने भयो । उनले कपडा पसलका मालिकलाई ट्वाइलेट कता छ साहुजी ? भनेर प्रश्न गरिन् । उनले नसुनेजस्तै गरे । मलाई ट्वाइलेट जानुपर्ने थियो, कता छ होला बताइदिनुस् न, उनले पुनः उक्त पसलेलाई प्रश्न गरिन् 

ती पसलेले उनलाई अन्यत्रैको ट्वाइलेट प्रयोग गर्न भने । ‘घरबेटीले ट्वाइलेट फोहोर हुन्छ भनेर ताल्चा लगाएका छन, तपाई अन्तै जानुस् यहाँ सम्भव छैन । उनले भने– ‘नगरपालिकाको अगाडि सार्वजनिक शौचालय छ, त्यही जानु ।’ पसलेले महिलालाई नगरपालिका अगाडि जान भनेपछि उनी त्यतै लागिन् ।

पसलेले बताए अनुसार उनी सार्वजनिक शौचालय भएको ठाउँ खोज्दै गइन् । अलि पर पुगेपनि उनले सार्वजनिक शौचालय लेखेको भवन देखिन् । त्यसपछि उनी छिटोछिटो त्यहाँ पुगिन् । तर शौचालयको ढोकामा ठूलो ताला झुड्याएको थियो । माथि सार्वजनिक शौचालय लेखेको थियो तल दिसा गरेको रू. १० र पिसाब गरेको रू. ५ लेखेको थियो । शौचालयको ढोका अगाडि गाडी पार्किङ गरि राखिएका थिए।

रूपैयाँ तिरेर शौच गर्न पाइने ठानेर उनी शौचालय नजिकै रहेको पसलमा ताला खोलिदिन आग्रह गरिन् तर साहुजीले आफूसँग उक्त शौचालयको चाबी नभएको बताए । साहुजीले त्यो शौचालय धेरै पहिलेदेखि बन्द हुने गरेको बताए । त्यतिबेलासम्म उनलाई पिसाबले च्यापेको थियो ।

उपाय केही लागेन । चिनेजानेको मान्छेको पसल नजिकै थिएन । त्यसपछि उनी हत्तपत्त एउटा होटलमा पसिन् । होटल साहुलाई एक कप चिया बनाउन लगाइन् । त्यसपछि ‘साहुजी शौचालय कता छ ? भनी सोधिन् । होटल साहुले शौचालय देखाई दिएपछि उनी शौचालयतर्फ लागिन् ।

यस्तै अनुभव तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने खला कुमारी धितालको पनि छ । शौच गर्नकै लागि बजारभरी धाउनु परेको अनुभव उनले सुनाईन् । बजारमा किनमेल गर्न आउने सर्वसाधारणहरूका सार्वजनिक शौचालय नहुँदा अनावश्यक रूपमा किनमेल गर्नुपर्ने, चिया नास्ता खानुपर्ने उनी बताउँछिन् ।

बजारमा सबैका आ–आफ्ना मान्छेहरू हुन्छन् भन्ने पनि हुन्न, दिसा पिसाबले आफ्नो बिरानो ठाउँ छुट्याउँदैन, यहाँ ज्यानै गएपनि शौचालय छ भनेर कसैले भन्दैन’ उनले भने– ‘अरू उपाय केही नलागेपछि कि होटलतिर, कि किराना, कपडा पसलतिर लाग्ने हो ।’ बजारमा सार्वजनिक शौचालय नहुँदा कयौँ पटक शौचालय प्रयोग गर्नकै लागि संघर्ष गर्नुपरेको उनले बताइन् ।

सर्वसाधरणको सेवा सुविधाका लागि तुलसीपुर उपमहानगर–पालिकाले सार्वजनिक शौचालय निर्माण गरेको छ । उपमहानगरको भवन नजिकै सार्वजनिक शौचालय त छ । तर त्यसको प्रयोग गर्न भने पाइँदैन । उक्त शौचालयको ढोकामा सधै ताला झुण्ड्याइएको हुन्छ । शौचालय अगाडि सवारी साधन पार्किङ गरी राखिएको छ ।

शौच गर्न आउने सर्वसाधारण ढोकामा झुण्ड्याइएको ताला, पार्किङ गरि राखिएका सवारी साधन हरेर फर्किन्छन् । तुलसीपुर उपमहानगरपालिकाको तथ्याङ्क अनुसार तुलसीपुर क्षेत्रमा तीनवटा सार्वजनिक शौचालय छन् । तीमध्ये एउटा शौचालयमा मात्र सञ्चालनमा छ । अन्य दुईवटा शौचालय प्रयोगबिहीन जस्तै छन् ।

भएका संचरना प्रयोगमा नआउँदा एकातिर शौचालय बिजोक बन्दै गएको छ भने सर्वसाधारण उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको विजोग सबैले देख्दै आएका छन् । शौचालय निर्माण भएको धेरै वर्ष भएपनि सञ्चालन हुन सकेको छैन् । उपमहानगरपालिकाको प्रवेश द्वारदेखि नजिकै रहेको सार्वजनिक शौचालय त देखिन्छ तर शौच गर्न भने पाइदैन ।

सार्वजनिक शौचालयमा सधै ताला लाएको हुन्छ । काम विशेषले गाउँ–गाउँबाट बजार आउने सर्वसाधारणले पैसा तिरेर पनि शौच गर्न नपाएको गुनासो गरेका छन् । उपमहानरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय भए पनि सधै ताला लाग्ने र शौचालयको अगाडि गाडी पार्किङ गरेर राखेको देखिन्छ ।

दैनिक पैदल यात्रु संख्याको अनुपातमा उपमहानगरपालिकाभित्र शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । काम विशेषले बजार आउने सर्वसाधारणहरूले शौचालय प्रयोग गर्न नपाउँदा सास्ती खेप्नु परिरहेको छ । उपमहानगरपालिका नजिकै रहेको उक्त शौचालय र शौच वीरेन्द्र चोकमा रहेको शौचालय बन्द अवस्थामा छन् । नगरपालिकाभित्र जम्मा तीनवटा सार्वजनिक शौचालय भए पनि नयाँ बसपार्कमा रहेको शौैचालय मात्रै सञ्चालनमा रहेको छ ।

तुलसीपुर उपमहानगर–पालिकाले भने नागरिकको समस्यालाई सम्बोधन गर्ने बताएको छ । बन्द रहेका सबै शौचालयहरू सञ्चालन गर्ने आश्वासन दिएको छ । स्वास्थ्यका हिसावले पनि सार्वजनिक शौचालय प्रयोगमा आउन आवश्यक रहेकाले सार्वजनिक शौचालय सञ्चालनको प्रस्ताव राखिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्वास्थ्य महाशाखा प्रमुख ओमप्रसाद न्यौपानेले बताए । उनले नीति तथा कार्यक्रममा सार्वजनिक शौचालय सञ्चालनको प्रस्ताव राखिएको उल्लेख गरे ।

बजारमा किनमेल गर्नको लागि आउने सर्वसाधारणलाई सजिलोको लागि भौतिक शौचालय निर्माण तथा सञ्चाल गर्ने बताए । यसका साथै मोवाईल (घुम्ती) शौचालय पनि सञ्चालन गर्न सकिन्छ कि भनी त्यसको अध्ययन भइरहेको न्यौपानेले बताए । उपमहानगरपालिकाले वासप्लान कार्यक्रम सञ्चालन गरेर सर्वसाधारणको समस्याको न्यूनीकरण गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस