शिक्षालाई नाटकसँग जोड्नुपर्छ : के.सी.
दाङ, २१ मङ्सिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका सचिव आदिम के.सी.ले शिक्षालाई नाटकसँग जोड्नुपर्ने बताएका छन् ।
शैली थिएटर काठमाडौँको आयोजनामा दाङमा भएको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै केसीले पाठ्यक्रमभित्र रहेका भाषा विषयका पाठहरुलाई नाटकसँगै जोडेर अध्यापन गराउन सकिने बताएका हुन् ।
बिहीबार दाङको घोराहीमा आयोजन गरेको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले शिक्षालाई नाटकसँग जोड्न सकेमा सिकाइ प्रक्रिया सहज हुने बताएका छन् ।
‘भाषा विषयका कतिपय पाठ तथा अन्य विषयका विषयबस्तुलाई पनि नाटकसँग जोड्न सकेमा सिकाइ सहज हुन्छ । सुनेका कुराभन्दा हेरेका, देखेका कुरा बढी अविस्मरणीय हुन्छन् ।
विद्यार्थीलाई कठिन लागेका विषयबस्तु कथानक शैलीमा प्रस्तुत गर्न सकियो भने सिकाई सहज हुन्छ । अब शिक्षालाई नाटकसँग जोड्न आवश्यक छ ।’ प्रमुख अतिथि केसीले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णुप्रसाद दाहालले दाङमा नाट्य क्षेत्रको बिस्तार विकास लागि थिएटर आवश्यक रहेको बताए ।
शैली थिएटरको आयोजना, गोदावरी इङ्लिस मिडियम स्कुलको व्यवस्थापन तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा दाङमा एक हप्ते अभिनय प्रशिक्षण कार्यक्रम भएको हो।
कार्यक्रममा जिल्लाभरका तीन दर्जन बढीले प्रशिक्षण लिएको कार्यक्रमका संयोजक हरि पौडेलले जानकारी दिए । कार्यक्रममा प्रशिक्षार्थीहरुले कक्षा १० को नेपाली विषयमा रहेको ‘घरको माया’ एकाङ्कीलाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ग्लोबल एकेडेमीका प्रिन्सिपल किरण न्यौपाने, युरो किड्सका प्रिन्सिपल सुधीर बत्स्याल, प्रशिक्षक सबिन न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।
शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक हरि पौडेलले गरेका थिए ।