२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

तुलसीपुर महोत्सव आज ‘हाउसफूल’

दाङ, ६ फागुन ।
दाङको तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा हेर्न हजारौं दर्शक उपस्थित भएका छन् ।

चौहानले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गर्दा माहोल झन् रोमाञ्चक बनेको थियो ।

एलिनाले ‘धोकेबाज हौ तिमी’, ‘दुश्मन हेरेको हेरेइ’, ‘मिनिरल वाटर’ जस्ता चर्चित गीतहरू गाएपछि दर्शकहरू झुमेका थिए ।

आज कार्यक्रमस्थलमा दर्शकको उपस्थिति उल्लेखनीय देखिएको साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । उहाँले भोलि पनि चर्चित कलाकारको प्रस्तुति रहने बताउनुभयो ।

‘स्थानीय कलाकारहरूसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको प्रस्तुति पनि हुने क्रम जारी रहेको छ ।’ उहाँले भन्नुभयो–‘एलिनाको प्रस्तुति महोत्सवकै मुख्य आकर्षणमध्ये एक पनि हो, अब झन्‌पछि झन् दर्शकको ओइरो लाग्नेक्रम जारी छ ।’

महोत्सवमा दाङसहित रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्वबाट पनि दर्शकको उपस्थिति हुने गरेको छ ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको यो महोत्सव फागुन १६ गतेसम्म चल्नेछ ।

महोत्सवमा व्यापारिक स्टलहरू, स्थानीय कला संस्कृति प्रदर्शन, तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयो ।

‘महोत्सवमा झन्‌पछि झन् दर्शकको सहभागिता बढ्दै गएको छ ।’ उहाँले भन्नुभयो–‘आज त झन् ‘हाउसफूल’ नै भयो ।’

भोलि सार्वजनिक बिदा परेका कारण पनि दर्शकको उपस्थिति उल्लेख्य हुने छ । ‘भोलिको लागि आज नै टिकट काटिसकेको अवस्था पनि छ ।’

उहाँले भन्नुभयो–‘यस हिसावले पनि भोलि धेरै दर्शक हुने अनुमान गरिएको छ ।’ आयोजकहरूका अनुसार यो वर्ष महोत्सवमा ५०० भन्दा बढी स्टल राखिएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस