तुलसीपुरमा शुक्रबारदेखि प्रथम तुलसीपुर महोत्सव सुरु
दाङ: तुलसीपुरमा शुक्रबारदेखि प्रथम तुलसीपुर महोत्सव सुरु भएको छ। स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक वातावरण निर्माण गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालनमा आएको हो।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्ती मगरले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रदेश सरकारले छिट्टै घरेलु तथा साना उद्योग ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारले १०९ वटै स्थानीय तहमा उद्योग–व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गरिरहेको बताए।
स्वदेशी उत्पादनको बजारीकरण बिना आर्थिक विकास सम्भव नहुने उल्लेख गर्दै कृषिजन्य तथा घरेलु उत्पादनलाई प्राथमिकता दिइएकोमा उनले आयोजकलाई प्रशंसा गरे।
सभामुख घर्ती मगरले स्वदेशमै अवसर नदेखेर युवाहरू विदेशिने अवस्था रहेको भन्दै अब युवालाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताए।
उद्घाटन कार्यक्रममा महोत्सव मूल आयोजक समिति संयोजक तथा महासङ्घ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले महोत्सवबाट बचत भएको रकमबाट बसपार्कमा व्यवस्थित शौचालय निर्माण तथा अग्नि नियन्त्रण सामग्रीमा निःशुल्क रिफिल गर्ने योजना रहेको जानकारी दिए।
उनले तुलसीपुरको आर्थिक विकासका लागि स्थानीय उत्पादनको बजारीकरण र औद्योगिक वातावरण आवश्यक रहेको उल्लेख गर्दै औद्योगिक ग्राम स्थापनाका लागि स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको बताए।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेशप्रसाद सिंहले देशभर करिब ९ लाख उद्योग दर्ता भए पनि आधामात्रै नवीकरण भएको तथ्यांक प्रस्तुत गर्दै नवीकरण प्रक्रिया सहज बनाउन सरकारको पहल आवश्यक रहेको बताए।
उनले पछिल्लो समय स्टार्टअप कर्जाको रकम घटेको भन्दै त्यसलाई वृद्धि गर्नुपर्नेमा जोड दिए। यस्तै लुम्बिनी प्रदेश अध्यक्ष गणेश अधिकारीले उद्योगहरूले योग्य मजदुरको अभाव झेलिरहेको बताए।
उद्योग र उत्पादन विस्तार नभएसम्म देशको आर्थिक विकास सम्भव नहुने उनको भनाइ थियो। ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेन्द्र आचार्यले आगलागीजन्य विपद् न्यूनीकरणका लागि अग्नि नियन्त्रण सामग्रीमा निःशुल्क रिफिल गर्ने अवधारणालाई सराहनीय बताए।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मेला स्थानीय कला, संस्कृति संरक्षण गर्ने महत्वपूर्ण माध्यम भएको बताए।
महोत्सवले कृषि उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने उनको भनाइ थियो।
