२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुग्ने ३ टीमको टुंगो लागिसकेको छ भने बाँकी एक स्थानका लागि चार टीम प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये सबैभन्दा बलियो दाबेदारी रहेको छ लुम्बिनी लायन्सको ।

सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका हुन् । ६ म्याचमा शतप्रतिशत जित हासिल गरेको सुदूरपश्चिमले क्यालिफायर खेल्ने पक्का गरेको छ । समूह चरणका शीर्ष दुई टीम क्वालिफायरमा भिड्छन् र हार्ने टीमले अर्को एक मौका पाउँछन् ।

तेस्रो र चौथो स्थानमा रहेका टीमले इलिमिनेटर खेल्नुपर्छ । इलिमिनेटरमा हार्ने टीम बाहिरिन्छ भने जित्ने टीमले पहिलो क्वालिफायरमा हार्ने टीमसँग दोस्रो क्वालिफायर खेल्नुपर्छ । पहिलो क्वालिफायर जित्ने र दोस्रो क्वालिफयर जित्ने टीम फाइनलमा पुग्छन् ।

लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको म्याचले प्लेअफको छिनोफानो गर्न पनि सक्छ । यदि लुम्बिनीले जित्यो भने बाँकी तीन टीम (जनकपुर, पोखरा र चितवन) को ढोका बन्द हुनेछ । लुम्बिनीले अहिलेसम्म तीन म्याच जितेर ६ अंक बटुलेको छ । दुई-दुई म्याच जितेका पोखरा र चितवनसँग ४ अंक छ भने एक म्याच मात्रै जितेको जनकपुरसँग् २ अंक छ । लुम्बिनीले आज जितेमा उसको ८ अंक पुग्छ र बाँकी तीन टीमको खेल खत्तम हुन्छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस