२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

काठमाडौं, २७ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो।

लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४२ रन बनाए। उनले १३ बलमा यो योगदान दिएका हुन्।

डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ तथा सन्दीप जोरा शून्य रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ १ रनमा अविजित रहे। बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा ८५ रनमै समेटिएको थियो। सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाए।

विनोद भण्डारी ०, शेल्डन ज्याक्सन १, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा १, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भए। हेमन्त धामी ७ रनमा अविजित रहे। बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे।

उनले ११औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए। शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३–३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट हात पारे।

प्रकाशित मिति : २०८२ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस