२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बुटवलमा जारी अन्तर्राष्ट्रिय बुद्धिचाल खेलमा रुपेश जैसवाल अगाडि, अन्तिम चरणमा पुगे १ सय ४२ जना


बुटवल, २६ चैत । बुटवल उपमहानगरपालिका १३ बेलबासमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा अमेरिका, भारत र बंगलादेशका खेलाडीहरुलाई पछि पार्दै नेपालका एफ.एम. रुपेश जैसवालले एकल अग्रता कायम गरिरहेका छन् ।

कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको सातौं चरणको खेल सकिंदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सि.एम.पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गरेका छन् ।

प्रतियोगिताका प्रमुख निर्णायक निरन्जन प्रजापतिका अनुसार भारतका रुपेशले सुदिर कुमार सिन्हासँग बराबरी खेल्दै शिर्ष ६.५ अंक जोड्न सफल भएका छन् ।

रुपेशले १९६९ रेटिङ्गवाट खेल प्रारम्भ गरि सात चरणको खेलमा ३० रेटिङ्ग वृद्धि गर्न सफल बनेका छन् । यति बेलासम्म उनको रेटिङ्ग पर्फोमेन्स २१३८ रहेको छ ।

प्रजापतिका अनुसार भोली २७ गते बिहान ८ बजेदेखि अन्तिम चरणको फाईनल राउन्ड हुने छ ।

नेपालका सि.एम.सजिन महर्जन हालसम्म पाँच खेलमा जीत दर्ता र दुई खेल बराबरी खेल्दै ६ अंक बोकि दोश्रो स्थान ओगट्न सफल रहेका छन् ।

महर्जनले अमेरिकन खेलाडी वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादब, नेपाली भवेष डंगोरिया र गोविन्द खड्का माथि विजय प्राप्त गरेका थिए भने उदियमान खेलाडी सुदिप तामाङ र भारतका दिव्यांशु संग बराबरी खेलेका थिए ।

महर्जनले १९६८ रेटिङ्गवाट प्रतिस्पर्धा गरि ९.६ रेटिङ्ग वृद्धि गरेका छन्। उनको रेटिङ्ग पर्फोमेन्स १९३० रहेको छ ।
विदेशी खेलाडी सुधिर कुमार सिन्हा र रिशव निसादले पनि ६÷६ अंक बनाउदै सजिन संगै संयुक्त दोश्रो स्थानमा उभिएका छन् ।

भारतका सुधिर कुमार सिन्हाले पाँच जित दुई बराबरी खेलेका छन् भने भारतकै रिशव निसाद एक खेलमा पराजित भइ ६ खेलमा जित निकालेका छन् ।

सुधिरको रेटिङ्ग पर्फोमेन्स २०४८ रहेको छ भने रिशवको रेटिङ्ग पर्फोमेन्स २००२ रहेको छ ।

प्रतियोगिताका उच्च रेटेड बंगलादेशका खेलाडी सि.एम. एम.डि जमाल उद्दिन ५.५ अंक जोडेर नेपाली र भारतीय छ जना खेलाडीहरु संगै संयुक्त तेश्रो स्थानमा उभिएका छन् ।

जमालसंगै ५.५ अंक जोड्ने खेलाडीहरुमा भारतका विपुल सुभासि, नेपालका सि.एम कृष्ण थापा, सुरज महर्जन, युवा पुरुषोत्तम सिलवाल र सुदिप तामाङ रहेका छन् ।

भारतीय महिला खेलाडी डब्लूएफएम बृष्टि मुखर्जीले पाँच खेलमा जित र दुई खेलमा हार आत्मसात गर्दै ५ अंक बनाएर महिला मध्ये अगाडि रहन सफल भइरहेका छन्।

उनले १९०३ रेटिङ्गवाट खेल शुरु गरि २.४ रेटिङ्ग वृद्धि गरेकि हुन्। उनको रेटिङ्ग पर्फोमेन्स भने १८३० मा झर्न पुगेको छ। उनी संगै अन्य बीस जना खेलाडीहरुले ५÷५ अंक बनाउदै खेललाई निरन्तर दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले कूल १० लाख १ हजार पुरस्कार राशीका लागि १ सय ४२ जना खेलाडीहरु अन्तिम प्रतिस्पर्धामा रहेको जानकारी गराएका छन् ।

प्रधानका अनुसार ५१ जना खेलाडीले विभिन्न विधामा पुरस्कार पाउने छन् भने प्रतियोगिताको अन्तिम खेल भोलि सकिने र मेयर खेलराज पाण्डेले पुरस्कार वितरण गर्नेछन ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस